तुलसीपुरमा महायज्ञ सुरु

दाङ, १३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताउनुभएको छ ।

मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आजदेखि तुलसीपुरमा सुरु भएको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको उदघाटन गर्दै उहाँले सडकपेटीमा बस्दै आएका व्यक्तिहरुको सहयोगका लागि काम गर्दै आश्रमका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले केही वर्षअघि आफूले आफ्नै वडामा रहेको मानव सेवा आश्रमलाई अवलोकन गर्ने अवसर प्राप्त भएको र सोही अवसरमा आश्रम निर्माणका लागि सहयोग गर्ने बचन दिएको बताउनुभयो । उहाँले केही समयअघि हेडौँटामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सबै प्रदेशमा मानव सेवा आश्रम भवन निर्माणका विषयमा छलफल भएको बताउनुभयो ।


मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री चौधरीले आजको जनसागरले मानव सेवा आश्रमको अभियानमा लाग्न सबैलाई प्रेरणा मिलेको बताउनुभयो ।

प्रदेश सरकारले आश्रमका लागि भवन निर्माणका लागि बजेटको कुनै कमी नहुनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट रु पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य आयोजकले लिएको छ ।