काठमाडौ, २५ पुष । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । यसअघि बलात्कारको अभियोगमा दोषी ठहर भएका लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैद, ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । न्यायाधीश ढकालकै इजलासले यही पुस १३ गते सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर हुने ठहर गरेको थियो । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आज पेसी तोकिएको थियो ।
पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको ठहर गरेको अदालतले किशोरी नाबालिग भने नरहेको ठहर गरेको थियो । गौशाला २६ नाम दिइएकी किशोरीले सन्दीपले आफूलाई बलात्कार गरेको र आफू नाबालिग रहेको दाबी गर्दै उजुरी गरेपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । त्यसपछि किशोरी नाबालिग रहे नरहेको विषयमा लामो बहस पछि अदालतले उनी १८ वर्ष पुगेको तर सन्दीपले उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको फैसला गरेको थियो ।
लाइभदाङ । २५ पुष २०८०, बुधबार २१:१२ बजे