तुलसीपुर, १४ पुष । दाङमा एक जनाको हत्या गरी बोरामा हालेर फालेको आरोपमा श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेर बहादुर कँवर र उहाँकी श्रीमती दिपा कवर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनीहरुलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरी भारतिय प्रहरीले नेपाल प्रहरीलाइ बुझाएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या गरी बंगलाचुली गाउँपालिका ४ को जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला परेको थियो ।
मृतक केसी घोराही स्थित अघरा टोल विकास संस्थाको अध्यक्ष समेत रहेको बताइएको छ । उहाँ यही पुष ८ गते घरदेखि बंगलाचुली जान्छु भनेर हिडेकोमा सम्पर्कबिहिन भएकाले सोहि दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक केसीको हत्या गरि कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र लुकाएको भन्ने हत्या आरोपितको बयानको आधार खोजतलास गर्दा सोहि स्थानमा शव फेला पारिएको हो । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
लाइभदाङ । १४ पुष २०८०, शनिबार ०९:५१ बजे