त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित

काठमाडौं, २ पुष ।
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विद्यार्थीहरू दीक्षित भएका हुन्।

त्रिविको ६१औँ ग्रेसलिस्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।


निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालले ०७९ असार १ देखि ०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए।

गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए। उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे।