बाँकेमा जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, एक जना गम्भीर घाइते

बाँके,२९ मंसिर ।
बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा रहेको प्रहरी जवान २९ वर्षीय विशाल ओलीको मृत्यु भएको छ भने प्रहरी सहायक हवलदार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् ।

घाइते बुढाक्षेत्रीलाई कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए ।


गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवलदार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान ओलीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।