दाङमा विभिन्न हातहतियारसहित दुई जना पक्राउ

दाङ, १९ कार्तिक ।
दाङमा विभिन्न हातहतियारसहित शुक्रबार राति दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ बस्ने ४९ वर्षीय दिल बहादुर राना र ४५ वर्षीय निम बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिनुभएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।