मैत्रीपूर्ण खेलमा थारु पत्रकार संघ विजयी

दाङ, २५ चैत ।
थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मञ्च दाङ बिच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा थारु पत्रकार संघ विजयी भएको छ ।

यस मैत्रीपूर्ण फुटबल खेलमा थारु पत्रकार संघ दाङ दुई गोलका विरुद्ध सात गोल अन्तरले विजयी भएको हो । थारु पत्रकार संघ दाङका तर्फबाट खेलको पहिलो हाफमा लबलिन क्यान्भासले दुई गोल, सुबास चौधरीले चार गोल, र अजय चौधरीले एक गोल गरेका थिए । त्यस्तै राष्ट्रिय थारु कलाकार मञ्चका तर्फबाट सुलभ चौधरीले दुई गोल गरेका थिए ।

जनयुद्धका महान सहिदहरु अर्जुन चौधरी (राहुल), इन्द्र चौधरी (श्याम), र घोराही उपहानगरपालिकामा वडा नं. १७ ओखरा निवासी पत्रकार प्रकाश चौधरीका भाई विजय चौधरीको स्मृतिमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । उनीहरु द्धन्द कालमा सत्ता पक्षबाट सोही दिन सहादत भएका थिए । यस अवसरमा विजयी थारु पत्रकार संघलाई तिन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । विजयी टिमलाई स्व।अर्जुन चौधरी (राहुल)का बुवा रामप्रसाद चौधरीले पुरस्कार प्रदान गर्नुभएको थियो ।


स्व.अर्जुन चौधरी (राहुल) का बुवा रामप्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलको सुरुवात गरिएको थियो । यस अवसरमा बोल्ने वत्ताहरुले देश र जनताका लागि आफ्नो ज्यान आहुती दिने सहिदहरु सबैमाझ महान रहने बताए । अहिले उहाँहरुको भौतिक शरीर नभएपनि उहाँहरुको नाम इतिहासमा स्वर्णिम अक्षरले लेखिसकेको उनिहरुको भनाई थियो ।

त्यस्तै प्रमुख अतिथि धनिराम चौधरीले आगामी दिनमा उहाँहरुको सम्झनामा वडासँग सहकार्य गरी बृहत फुटबल प्रतियोगिताको आयोजना गर्ने बताए । यस अवसरमा थारु पत्रकार संघका निवर्तमान केन्द्रिय अध्यक्ष सन्तोष दहित, पत्रकार लक्षिमान चौधरी, नविन चौधरी, शहिद विजय चौधरीका आमा तुलसा चौधरी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रकाश चौधरीले गरेका थिए ।