लुम्बिनी प्रादेशिक अस्पताललाई गुणस्तरिय उपचारको उत्कृष्ट केन्द्र बनाईने

रुपन्देही, ८ असोज ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालका माध्यमबाट बुटवललाई गुणस्तरिय स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी आयुर्वेद चिकित्सालय लगायतका अस्पतालको निरिक्षणपछि सरोकारवालहरुसँगको छलफलमा स्वास्थ्य मन्त्री खनालले प्रदेश भित्रको उपचार केन्द्रको रुपमा विकास भैसकेको लुम्बिनी प्रादेशिक अस्पताललाई अब सातै प्रदेशको उत्कृष्ट उपचार केन्द्रको रुपमा बिकास गर्नुपर्ने बताउनु भयो । यस्का लागी स्वास्थ्य मन्त्रालयले सिमित बजेटका बिच पनि जनशक्ति, उपकरण र भौतिक पूर्वाधारमा लगानी गरिरहेको मन्त्री खनालले बताउनु भयो ।

उहाँले प्रदेशका अधिकांश अस्पतालमा देखिएको जनशक्तिको अभाव व्यवस्थापनका लागी मन्त्रालयले तत्कालका लागि करारमा भए पनि जनशक्ति भर्ना गरेर स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने नीति ल्याएको जानकारी दिनुभयो ।

प्रदेशका दुर्गम तथा पहाडी क्षेत्रका अस्पतालमा चिकित्सक जानै नमान्ने प्रवृत्तीको अन्त्य गर्न थप प्रोत्साहन रकमको व्यवस्था गरिएको भन्दै स्वास्थ्य मन्त्री खनालले तर पनि कतिपय पदमा आवेदन नै नपर्ने समस्या देखिएको बताउनु भयो । मन्त्रालयले अहिले प्रदेशका सबै अस्पतालमा भएका उपकरण र तिनको अबस्थाको बारेमा जानकारी माग गरेर मर्मत गर्न सकिने उपकरण मर्मत गरेरै भए पनि सञ्चालनमा ल्याइने बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पताल देशभरमै दोश्रो धेरै प्रसुती गराउने अस्पतालको रुपमा रहेको छ । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका विभागीय प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिटेण्डेण्ट, बुटवल उपमहानगरपालिकाका प्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लगायतले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिनु भएको थियो ।


त्यसक्रममा मन्त्री खनालले अस्पतालमा विस्तारित सेवा, न्यूरो एच डि यू, एन आइ सि यू, एस एन सि यू, बाल तथा प्रसुती विभाग टिकट काउण्टर तथा ल्याब रिपोर्ट एस एम एस सेवाको उद्घाटन गर्नुभयो । यसैगरि स्वास्थ्य मन्त्री खनालले लुम्बिनी आयुर्वेद चिकित्सालयले प्रदान गरिरहेको सेवा र चिकित्सालयको अबस्थाको बारेमा जानकारी लिदै आयुर्वेद उपचार पद्धतीको विकास र विस्तारका लागी सरकारले योजनाबद्ध ढँगले काम गरिरहेको बताउनु भयो ।

 

मन्त्रालयले आगाडी सारेका काममा सहयोग गर्न आग्रह गर्दै मन्त्री खनालले प्रदेश सरकारले परम्परागत उपचार पद्धतीलाई पनि आयुर्वेदसँगै जोडेर लैजान खोजेको बताउनु भयो । उहाँले जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई सिमा क्षेत्रबाट भित्रिन सक्ने संक्रामग रोगको बारेमा सचेत भएर काम गर्न निर्देशन दिनुभयो ।

विशेषगरि मौषम जन्य रोग र फ्लुहरु अन्यत्रबाट आउन सक्ने भएकाले कतै लक्षण देखिना साथ रोकथामको काम सुरु गरिहाल्न आग्रह गर्नुभयो । मन्त्री खनालले प्रदेशमा धेरै रहेको मातृ मृत्युदर र कुपोषणको अबस्थामा सुधार ल्याउनै पर्ने दायीत्व अहिले रहेको भन्दै अन्य सरोकारवाहरुलाई पनि आफ्ना कार्यक्रममा यी विषय समेट लगाउनु पर्ने बताउनु भयो ।