१७ किलो सुकुटी सहित तीन जना पक्राउ

दाङ, १५ साउन ।

दाङमा १७ किलो सुकुटी सहित तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका –३ कुईरेपानी जंगलको बाटोमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी जाँच गर्ने क्रममा सुकुटी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । लमहीदेखि घोराही तर्फ आउँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र संँगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोलामा चितलको मासु जस्तो देखिने सुकुटी जन्य पदार्थ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।


१७ किलो रहेको उक्त सुकुटी जस्तो पदार्थ बोकी ल्याउने लमही नगरपालिका ६ बस्ने बर्ष ४५ को नुरबहादुर कुमाल, गढवा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३० का मनोज थापा मगर र गढवा ६ कै ३१ वर्षका करण केसीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।