घोराहीको आइपिओमा फर्जी आवेदन दिनेलाई जालसाजी मुद्दामा अनुसन्धान गरिने

दाङ, २१ असार  । घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ)मा फर्जी आवेदन दिने लगानीकर्तालाई जालसाजी मुद्दा प्रहरीले अनुसन्धान गर्ने भएको छ । बैंक खातामा भएको रकमभन्दा धेरैको आइपिओ आवेदन दिने लगानीकर्तालाई जालसाजी मुद्दामा अनुसन्धान गर्न धितोपत्र बोर्डले प्रहरीलाई जिम्मा लगाउने भएको हो ।

बोर्डले पहिलोपटक प्रहरीलाई धितोपत्र कारोबारको फर्जी आवेदनमा  प्रहरीलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । फर्जी आवेदन दिनेमा गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री, चितवनका मनोज पाठक, सुनसरीका मिथिलेश कुमार मेहता, दोलखाका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंकी सुमित्रा बम रहेका छन् । उनीहरू प्रत्येकले १०–१० लाख कित्ताका लागि आवेदन दिएका थिए ।

बोर्डको जाँचबुझ समितिले आस्वा सदस्य एनआइसी एसिया बैंकलाई पनि छानबिनको दायरामा ल्याएको छ । बैंकले खातामा रकम नै नभएका लगानीकर्ताको आइपिओ स्वीकृत गरेको पाइएको छ । त्यस्तै, बिक्री प्रबन्धक हिमालयन क्यापिटलले कम्पनीको सेयरमा आवश्यक कित्तामा आवेदन परेपछि पनि समय थप गरिएकोमा छानबिन गरेर आवश्यक कारबाही गर्ने बोर्डले जनाएको छ ।


 घोराही सिमेन्टको प्राथमिक सेयर पुनः खुला गरिने
जाँचबुझ समितिले कम्पनीको सेयरमा पुनः आवेदन खुला गर्ने निर्णय गरेको छ । फर्जी आवेदन दिने लगानीकर्ताहरूको निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नदेखिएको र वैदेशिक रोजगारमा रहेका नेपाली तथा प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको सेयर बाँडफाँट भई २९ करोड ४६ लाख ७८ हजार दुई सय ५० रकमान्तर भइसकेको अवस्थामा शंकास्पद देखिएको विषयलाई छानबिन गरी निष्कासन अघि बढाउने निर्णय बोर्डले गरेको हो ।

यसअघि आवेदन दिएका लगानीकर्ताहरूले कम्पनीको सेयरमा आवेदन झिक्न वा कित्ता संख्या घटबढ गर्न सकिने व्यवस्था पनि बोर्डले गरिदिएको छ । बोर्डले तीन दिनको समयभित्र रकम झिक्न वा कित्ता हेरफेर गर्न सकिने बताएको छ । तीन दिनको समय सकिएपछि बिक्री प्रबन्धकले सात दिन समय दिएर आइपिओ खुला गर्न सक्ने बोर्डले व्यवस्था गरेको हो ।
कम्पनीको सेयरमा पाँच लाख ६२ हजारभन्दा धेरैले नौ अर्ब ८३ करोड रुपैयाँबराबर रकमको आवेदन दिएका थिए । कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरुमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि ४ असारमा बोर्डको निर्देशनमा आवेदन रोक्का गरिदिएको थियो ।

कम्पनीले प्रिमियमसहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो । सर्वसाधारणका लागि ३२ जेठबाट कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन खुला गरेको थियो ।