एक बर्षमा दाङका ३३ जनाको विदेशमा मृत्यु

दाङ
७ असोज / एक बर्षको अबधीमा रोजगारको सिलसिलामा विदेश गएका दाङका ३३ जनाको मृत्यु भएको छ । यो संख्या गएको आर्थिक बर्ष २०७७/०७८ मा ज्यान गुमाउनेहरुको हो । नेपालका २९ महिलासहित १२ सय ४२ श्रमिकले विदेशमा मृत्युवरण गर्नुप¥यो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष मृत्यु भएकाहरुको शव कोरोना महामारीका कारण ल्याउन नसकेर परिवारको सहमतिमा विदशेमै दाहसंस्कार गरिएको बताउँछन । उनीहरु सबैको अस्तु ल्याएर परिवारलाई दिएको उनले बताए ।

सचिवालयको तथ्यांकअनुसार, गत वर्ष विदेशमा विभिन्न रोगका कारण ४२७ जना नेपाली श्रमिकको मृत्यु भयो । यीमध्ये २५६ जनाको मृत्यु स्वभाविक खालको थिएन ।
गत वर्ष १४० जना श्रमिकले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकले देखाउँछ । परिवारसँगको किचलो, कार्यस्थलमा हुने शारीरिक(मानसिक दबाब, आर्थिक शोषण, विभिन्न कारणले हुने डिप्रेसन, ऋणलगायतका पीरले श्रमिकहरु विदेशमै आत्महत्या गरेको देखिन्छ ।

त्यस्तै, चालकहरुसहित ११९ जना सडक दुर्घटनामा परेर बितेका छन् । कार्यस्थलमा आउँदा–जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको सावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।

विदेशमा नेपाली श्रमिकहरुले ज्यान गुमाउने अर्को ठूलो कारण बनेको छ- कार्डिक अरेष्ट अर्थात् एक्कासी हुने हृदयघात । यीमध्ये धेरैजसोले निदाएको बेला ज्यान गुमाएका छन् । प्रतिकूल आहार(बिहा, लगातार लामो सयम काम, धुम्रपान(मद्यपान तथा चर्को गर्मीमा कडा श्रम गरेर फर्किएर एसी लगाएर सुत्ने लगायत कारण कार्डिक अरेष्ट हुने गरेको छ ।

गत वर्ष कार्यस्थलमा भएको दुर्घटनामा पनि २६ जनाले ज्यान गुमाए । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदी कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् ।


गत आर्थिक वर्षमा ५ जना श्रमिकको मत्युको कारण नै खुलेन भने २ जनाको हत्या भएको थियो ।

साउदीमा धेरैको मृत्यु

देशगत रुपमा हेर्दा सबैभन्दा बढी नेपालीको मत्यु साउदी अरेबियामा हुने गरेको छ । गत आर्थिक वर्षमा ३६२ जना नेपालीले साउदीमा ज्यान गुमाए । साउदीपछि मलेसिया बढी असुरक्षित देखिन्छ । गत वर्ष मलेसियामा २८० जना नेपालीको मृत्यु हुन पुग्यो ।

यसैगरि, कतारमा २३९, यूएईमा २०८ र कुवेतमा ५५ जना नेपालीले ज्यान गुमाए । बहराइनबाट ३१ जना नेपाली श्रमिक शव र अस्तुको रुपमा देश फर्किए । दक्षिण कोरियामा १३ जनाले मृत्यु बेहोर्नुर्पयो ।

जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी तराई-मधेशका नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएको देखिन्छ । गत वर्ष मोरङका ५८, सिराहाका ५७, महोत्तरीका ५५, झापाका ५३, स्याङ्जाका ४६, सुनसरीका ४४ र सप्तरीका ४४ जनाले विदेशमा मृत्युवरण गरे ।

त्यस्तै, पश्चिम नवलपरासीका ४०, सर्लाहीका ३७, चितवनका ३६, दाङका ३३ र कास्कीका ३१ जना श्रमिकले विदेशमा ज्यान गुमाएको तथ्यांक छ । एक वर्षका बीचमा विदेशमा मृत्यु हुनेको सूचीमा ७७ वटै जिल्लाका कामदार छन् ।