स्थायी राजधानीबाट प्रदेशसभा सचिवालयले आजदेखि काम थाल्ने

देउखुरी, ११ पुष ।
लुम्बिनी प्रदेशसभा सचिवालयको सबै कामकाज आजदेखि राप्ती उपत्यका देउखुरीबाट शुरु हुँदैछ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज स्थायी राजधानीबाट शुरु भएको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

‘प्रदेशसभा सचिवालय र प्रदेशसभाको सबै काम स्थायी राजधानीबाट शुरु भएको छ’– प्रदेशसभा सचिव पुनले भन्नुभयो– ‘प्रदेश प्रमुखबाट प्रदेश अधिवेशन आह्वान हुन्छ । प्रदेशसभा बैठक बस्नुअघि शपथग्रहण राख्छौं ।’ अबको प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीं राख्ने योजना छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको यसअघि नै जानकारी गराएको थियो । प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले निर्माण पूरा भएको प्रदेशसभा भवनको अनुगमन गर्नुभएको छ । प्रदेशसभा भवन तयार भएको र अबको प्रदेशसभा बैठक यहीं आयोजना गर्ने विषयमा स्थलगत अनुगमन गर्नुभएको हो । संवैधानिक व्यवस्था अनुसार पुस २१ भित्र प्रदेशसभाको बैठक बस्नेछ । १५ गतेदेखि २१ गतेको बीचमा शपथ राखिने छ ।


प्रदेशसभाको बैठक आयोजनाको दिनलाई उत्सवको रुपमा मनाउने गरी तयारी गरिएको प्रदेशसभा सचिव पुनले जानकारी दिनुभयो । ‘संघीयता कार्यान्वयनका लागि लुम्बिनीले अग्रणी भूमिका निर्वाह गरेको छ’– उहाँले भन्नुभयो– ‘स्थायी राजधानीमै सदन सञ्चालन गर्न आफ्नै भवन समेत तयार पा¥यौं । अब यहींबाट संसदीय अभ्यास हुन्छ ।’ पाँच करोड २० लाखमा प्रदेशसभा भवन तयार भएको छ ।