दुई मोटरसाइकल एक आपसमा ठोक्कीदा चार जना घाइते

दाङ, १५ असार ।
दाङमा शुक्रबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्कीदा दाङ र सल्यानका चार जना घाइते भएका छन् । तुलसीपुर–अमेलिया सडकखण्ड अन्तर्गत तुलसीपुर–६ बुद्ध चोक नजिकै भएको दुर्घटनामा तुलसीपुरका तीन जना र सल्यानको सिद्धकुमाख गाउँपालिकाका एक जना घाइते भएका हुन् ।

घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

एयरपोर्टबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ८४४६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको रा ४ प २८६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी रा ४ प २८६६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–१६ लहलौरा बस्ने वर्ष ५६ को नवराज डाँगीको दाहिने खुट्टामा सामान्य चोट लागेको छ, भने सोही मोटरसाइकलमा पछाडी सवार तुलसीपुर–११ उरहरीका ५८ वर्षका खोपिराम अधिकारी गम्भिर घाइते भएका छन् । अधिकारीको टाउको र अनुहारमा चोट लागेको छ ।

यसैगरी दुर्घटनामा रा १ प ८४४६ नम्बरको मोटरसाईकल चालक तुलसीपुर–६ डुम्रिगाउँ बस्ने वर्ष २४ का दिगेश चौधरीको निधार र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोहि मोटरसाइकलमा पछाडी सवार सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष १८ को सुनिल बुढाथोकीको अनुहार र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।