दाङ,११ असार ।
दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी, दाङको सेवा आयोगमा विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दा शिक्षा आयोगको परीक्षा स्थगित भएको छ । एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट स्ववियुले तालाबन्दी गरेका हुन् ।
आयुर्वेद विद्यापीठ बेलझुन्डीको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटीले ३ असारमा तालाबन्दी गरेको हो, भने नेविसंघले ९ असारमा तालाबन्दी गरेको हो ।
उनीहरुका आ-आफ्ना माग छन् । अनेरास्ववियुले विभिन्न ६ वटा मागहरू राखेको छ । जसमा शैक्षिक क्यालेन्डर प्रकाशन गर्नुपर्ने, प्रोजेक्टरको माध्यमबाट पढाइ हुनुपर्ने, प्रयोगात्मक कक्षाहरूको गुणस्तर वृद्धि गरिनुपर्ने,प्राचार्यको राजीनामा स्वीकृत गर्नुपर्ने जस्ता मागहरु राखेको छ ।
त्यस्तै नेविसंघले सेवा आयोगमा विज्ञ व्यक्तिको पदपूर्ति गर्नुपर्नेमा व्यक्तिवादी चिन्तन हावी भएको तथा विश्वविद्यालयलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्नु गलत भएको भन्दै त्यसको विरोध गरिएको छ। विश्वविद्यालयमा पटक-पटक तालाबन्दी हुने गरेको छ । जसले गर्दा पठन पाठन प्रभावित हुँदै आएको छ ।
लाइभदाङ । ११ असार २०८०, सोमबार १३:१५ बजे