घोराहीका प्रअले अनिवार्य न्युनतम २ घण्टि पढाउनै पर्ने निर्णय

घोराही, १७ जेठ ।
घोराही नगर शिक्षा समितीले उपमहानगर अन्तरगतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिवार्य २ घण्टि पढाउनै पर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितीका संयोजक तथा मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको बैठकले प्रधानाध्यापकले न्युनतम २ घण्टि पढाउनै पर्ने निर्णय गरेको हो । नगर शिक्षा समिती सदस्य जिबन गौतमले सामुदायिक विद्यालयको प्रअ बन्न पनि न्युनतम २ घण्टि लिनै पर्ने र त्यो भन्दा बढि पनि पढाउन सक्ने बताए ।

उपमहानगरका प्रबक्ता तथा सामाजिक शाखा संयोजक राममणि पाण्डेले शिक्षा महाशाखा प्रमुखलाई प्रअहरुको भेला बोलाई निर्णयबारे जानकारी दिन र कार्यान्वयन गर्नका लागि पत्राचार गर्न निर्देशन दिई सकिएको बताए ।


नगर शिक्षा समिती सदस्य सुरेश गौतमले प्रअहरुले पढाउने रुटिन पनि तयार गरेर शिक्षा शाखामा पठाउन पनि निर्देशन दिइएको जानकारी दिए ।

मेयर नरुलाल चौधरीले प्रअले पढाउनै पर्ने नियमलाई तत्काल कार्यान्वयनमा ल्याउन महाशाखा प्रमुखलाई निर्देशन दिए । अर्का नगर शिक्षा समिती सदस्य नारायण पोखरेलले आफु प्रअ हुँदा ३ घण्टि अनिवार्य पढाउदै आएको अनुभब सुनाए ।