मोदी इनर्जीको आईपीओ खुल्यो

काठमाडौं, १९ वैशाख ।
मोदी इनर्जी लिमिटेड धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले १९ वैशाख मंगलबारदेखि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २९ करोड रुपैयाँ बराबरको २९ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप सर्वसाधारणलाई निष्कासन खुला गरेको हो ।

यस्तै कम्पनीले सर्वसाधारण लागि ४३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर छुट्याएको थियो । जसको १० प्रतिशतले हुने ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरेको छ । यस्तै २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको ३६ लाख १० हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावितलाई जारी गरेको आईपीओमा बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्ता सेयर थप गरी कुल ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला गरेको कम्पनीको आह्वापत्रमा उल्लेख छ ।


कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा २४ वैशाखसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २ जेठसम्म थप हुनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी १४ असोज २०७८ बाट व्यवसायिक उत्पादन गर्दै आएको छ । निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको लागत प्रतिमेगावाट ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।