लुम्बिनीका मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिने

दीपक बोहरा
दाङ,१५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार विश्वासको मत लिने भएका छन्।

शुक्रबार भालुवाङस्थित मुख्यमन्त्री कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले १८ वैशाखमा विश्वासको मत लिने निणर्य गरेको मन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

चौधरीले बुटवलमा शुक्रबार पद तथा गोपनीयताको शपथ खाएपछि भालुवाङ आएर पदभार ग्रहण गरेका थिए। मुख्यमन्त्री चौधरीसंगै अन्य ३ मन्त्रीले पनि शपथ खाएका थिए।


माओवादी केन्द्रबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तीबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डेले शपथ लिएका हुन्। यद्यपि, उनीहरुको मन्त्रालय भने टुंगिएको छैन। विश्वासको मत लिएपछि मन्त्रालय पनि बाँडफाँड तथा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिएको छ।