सबै पालिकामा विपद्को पूर्व तयारी हुनुपर्छ : मन्त्री शर्मा

दाङ,१५ वैशाख । सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद पूर्व तयारी हुनुपर्ने बताए । गृहमन्त्रालयको आयोजनामा दाङको तुलसीपुरमा भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले त्यस्तो बताईन् ।

विपद्को पुर्व तयारी गरेर सम्भावित घटनालाई न्यूनिकरण गर्न सकिने उनको भनाई थियो ।“विपदको पूर्व तयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”,उनले भनिन्‘ त्यसो गर्दा सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्व तयारी नहुँदा पनि धेरै जनाको मृत्यु भएको इतिहास रहेको मन्त्री शर्माको भनाई छ ।

भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानविय तथा धनजनको क्षति भएको भन्दै यसकालागि पूर्व तयारी आबश्यक रहेको मन्त्री शर्माको भनाई छ । त्यस्तै भौतिक संरचनाले गर्दा पनि धेरैको क्षति हुने गरेको उनको भनाई छ ।“जस्तै भुकम्प आएमा भुकम्पले क्षति हुने रहेनछ्,हाम्रा संरचना भुकम्पका कारण भत्किदा क्षति हुदो रहेछ’, उनले भनिन्“त्यसैले संरचना निर्माणमा पनि ध्यान दिनुपर्छ ।”


उनले जनप्रतिनिधि, समाजका अगुवाहरुले पूर्व तयारीका कुराहरु सिक्नु पर्ने बताईन् ।“जनप्रतिनिधि, समाजका अगुवाहरुले विपद् पूर्व तयारीका कुराहरुमा जानकारी भएमा विपद् हुँदा उद्दारमा धेरै सहज हुन्छ”,उनले भनिन् “यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्व तयारी नहुँदा उद्दार फितलो हुन्छ ।” साथै उनले विपद्मा सबै एक जुट हुनुपर्ने समेत बताईन् ।

मन्त्री शर्माले दाङमा सबै खालका विपदहरु हुने समेत बताईन् । पहाड र तराईको भू-भाग दाङमा पर्ने भएकाले पनि सबै खाले विपद्हरु दाङमा हुने उनको भनाई थियो ।