बजारमा छैनन्, सीसी क्यामेरा

दीपक बोहरा,
तुलसीपुर, ५ बैशाख ।
दाङ तुलसीपुर बजारमा सीसी क्यामेरा छैनन् । भएका सीसी क्यामेरा विग्रिएको लामो समय भएपनि मर्मतमा कुनै पनि चासो छैन् । रातिमा सडक बत्ति पनि नबल्ने र सीसी क्यामेराले पनि काम नगर्ने भएपनि ब्यबसायीहरु मर्कामा पर्दै आएका छन् ।

साबिक राप्तीको ब्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै सीसी क्यामेरा र सडक बत्ति नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको ब्यबसायी घनश्याम डाँगीले बताउनुभयो ।“सीसी क्यामेरा छैनन्, बत्ति पनि छैनन्”,उहाँले भन्नुभयो“त्यसले पसलहरु सुरक्षित हुने अबस्था नभएपछि दिउसै पसल बन्द गर्नुपर्ने अबस्था छ ।”

ब्यबसायीहरु मात्रै होईन्, रातिमा यात्रुहरुलाई पनि समस्या हुने गरेको छ । बजारमै सीसी क्यामेरा नहुँदा चोरीका घटनाहरु पनि बढिरहेका छन् । सडक बत्ति नबल्दा ब्यबसायी आफैले राखेका सीसी क्यामेराले पनि काम गर्दैनन् । व्यवसायीहरूले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् ।


तुलसीपुरका बिभिन्न स्थानमा १२५ वटा शौर्य बत्ती जडान गरिएपनि ति बत्तिले काम गर्न छाडेको बर्षौ भयो । तर, पनि मर्मतकालागि चासो छैन । सडक बत्ति राख्दा एक करोड बढि खर्च भएको छ । सौर्य बत्तीहरू वातावरणीय प्रदुषण लगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीले बताउनुभयो ।

ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ति मर्मत गर्न नसकिएको जनप्रतिनिधिहरु बताउछन् । तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तिको सम्झौता भएको थियो । त्यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतकालागि बोलाए । पहिलो पटक ठेकेदार आएपनि त्यसपछि भने ठेकेदार सम्पर्क मै नआएको तुलसीपुर ५ का वडाध्यक्ष बीरेन्द्र शाहले बताउनुभयो ।

सडक बत्ति र सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा पनि खलल पुगेको छ । पटक–पटक चोरी हुने तर, चोर भेटाउन मुस्किल पर्ने गरेको छ । त्यसैले अब डिजिटल प्रविधि जानुुपर्ने प्रहरीले बताएको छ । त्यसकालागि १८ क्यामेरा र रातको समय खिच्न मिल्ने सिसी क्यामेराको माग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।