पश्चिम दाङमा एकैपटक चार वटा टावर बन्दै

दीपक बोहरा
तुलसीपुर,३० चैत ।
दाङमा एकै पटक चार वटा टावर निर्माणको प्रक्रिया अघि बढेको छ । दाङको विकट क्षेत्रका रुपमा रहेको पश्चिम क्षेत्रमा एकै पटक चार वटा टावर निर्माण हुन लागेको लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताए ।

‘पश्चिममा टेलिकमको टावर नहुँदा अहिले पनि धेरै बस्तिहरु सम्पर्क विहीन छन्’,उनले भने‘ त्यहाँका नागरिकलाई सञ्चारको पहुँचमा ल्याउनकालागि टेलिकम टावर निर्माणको काम अघि बढाईएको छ ।’

मास्कीकै पहलमा ति मध्ये दुई वटा टावरको सामान खरिदको प्रक्रिया अघि बढिसकेको छ । बबई गाउँपालिका वडा नं.७ मलै र दंगीशरण गाउँपालिका वडा नं. २ को फुर्केसल्लीमा सर्भे सकेर समान खरिद प्रक्रिया अघि बढेको छ ।


त्यस्तै बबई गाउँपालिका वडा नं. १ गंगटे कोसिखालडाँडोमा र बबई ५ कुमालगाउँ बगरपुरमा सर्भेकालागि प्रक्रिया अघि बढाईएको छ । यी चार स्थानमा टेलिकम टावर निर्माण भएमा पश्चिम दाङमा सञ्चारको सहज पहुँच पुग्ने बबई ५ निवासी कृष्ण खड्काले बताए ।‘पश्चिम दाङलाई दाङको कणर्ाली पनि भनिन्छ, अझै पनि सहज फोन सेवा नहुँदा डाँडोमा गएर फोन गर्नुपर्ने अबस्था छ’,उनले भने‘यी टावर निर्माण भएपछि फोन गर्न डाँडोमै जानुपर्ने अबस्था रहदैन ।’

सञ्चार मन्त्री पनि दाङकै भएकाले पनि जिल्लामा टेलिकम टावर निर्माणको पहलकदमी अगाडी बढेको उनको भनाई छ । दाङको बबईको गंगटे, मलै, दंगीशरणको फुर्केसल्लीका धेरै बस्तिहरुमा कुनै पनि नेटवर्कले काम नगर्दा डाँडोमा गएर फोन गर्नुपर्ने अबस्था छ ।