प्रतिष्ठानमा गर्भवती महिलाको सफल शल्यक्रिया

घोराही, २४ चैत ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गम्भीर प्रकृतिकी गर्भवती महिलाको शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा घोराहीको एक निजि हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीको शरीरमा ‘प्लेटलेट्स’ एकदमै कम भएपनि उक्त गर्भवती महिलाको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको हो ।

स्वास्थ्यकर्मी समेत रहेकी उनी काठमाडौंका विभिन्न अस्पतालमा सुरक्षित प्रसुति सेवाका लागि गएपनि अन्तिममा उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आई अप्रेसन गरेर प्रसुति सेवा लिएकी हुन् ।

तर, ‘प्लेटलेट्स’ कम भएको बेला अप्रेसन गरे रक्तश्राव बढी हुने र बिरामीको ज्यान नै जाने खतरा हुने भएपनि प्रतिष्ठानका चिकित्सकहरु र बिरामी दुबैले साहस देखाउदा यो अप्रेसन सफल भएको हो । उपचारका क्रममा प्रत्यक्ष निगरानीमा बिरामी र उनको बच्चालाई प्रतिष्ठानका चिकित्सकहरुले सुरक्षित बचाएका छन् ।

‘प्लेटलेट्स’ बढाउन सबैखाले प्रयास गरेपनि उनको ‘प्लेटलेट्स’ नबढेपछि स्वास्थ्यकर्मी निकै चिन्तीत भएका थिए । सम्भाव्य खतराबारे बिरामी र उनका आफन्तलाई जानकारी गराएर बिरामीको अनुमती लिइ अप्रेसन भएको थियो । ‘प्लेटलेट्स’ बढाउन बिरामी आफै सिभिल अस्पताल काठमाडौंसम्म पुगेपनि कुनै उपाय नलागेपछि प्रतिष्ठानमा नियमित रुपमा चिकित्सकसंग चेकजाँच गराइरहेकी थिइन् ।


प्रतिष्ठानका चिकित्सकहरुले पनि गर्भवती हुने समय नजिकिदै जाँदा हर सम्भव प्रयास गरेर प्लेट लेस बढाउन खोजेपनि अन्तिमसम्म बढेन् । सामान्यतया ब्यक्तिमा डेढ लाखदेखी ४ लाखसम्म ‘प्लेटलेट्स’ हुनुपर्छ । बिरामी पक्षले सबैतिर पुगेर उपचार गर्दा पनि ‘प्लेटलेट्स’ बढ्दै नबढेपछि प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ बसन्त लामिछानेसहितका चिकित्सकले जोखिम नै लिई शल्यक्रिया गरेका थिए ।

चिकित्सकले बिरामीलाई सम्झाई बुझाई गरेर प्रतिष्ठानका एनेस्थेसियोलोजिष्ट डा.प्राण श्रेष्ठको महत्वपुर्ण प्रयास र सल्लाहमा अप्रेसन भएको थियो ।

‘हामीले निकै हाईरिस्क’ नै लिएर एक जना गर्भवती महिलाको अप्रेसन गर्न सफल भयौ, पेटमा पाँच महिनाको बच्चा हुँदादेखी नै हामीलाई नै बिरामीले चेक गराउदै आउनु भएको थियो, धेरै प्रयास गर्दा पनि बिरामीको ‘प्लेटलेट्स’ बढाउन सकिएन् अप्रेसनमा संलग्न चिकित्सक प्रसुति रोग विशेषज्ञ डा.लामिछानेले भने–‘बिरामी र उनका आफन्तलाई सम्भाब्य खतराबारे जानकारी दियौ, बिरामीको अनुमती लिई एक प्रकारले पुरै रिस्क नै लिएर अप्रेसन गर्यौ, अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’ सुरुदेखी चेकजाँच गर्दा बिरामीको ‘प्लेटलेट्स’ १८ देखी २० हजारमात्रै देखीयो, सुत्केरी हुने दिन आउँदासम्म ‘प्लेटलेट्स’ ३२ हजार पुग्यो, त्यो भन्दा बढ्दै बढेन-एनेस्थेसियोलोजिष्ट डा.प्राणले भने ।

डा.लामिछाने र डा. प्राणले ‘प्लेटलेट्स’ कम भएको बिरामीको अप्रेसन गरेर बिरामी र बच्चालाई सकुशल बचाउन पाउदा निकै खुसी भएको बताउदै डिश्चार्ज भई बिरामी घर जाँदा छुट्टै आनन्द आएको र यो आफ्नो पहिलो अनुभव भएको बताएका छन् ।