लुम्बिनी प्रदेश सरकारकै विद्युत काटिएपछि…

दाङ, २१ चैत ।
लुम्बिनी प्रदेश सरकारले विद्युत महशुल नबुझाउदा चार घण्टा विद्युत कटौती भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्युत महशुल नबुझदा सोमवार चार घण्टा विद्युत कटौती भएको हो ।

नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत महशुल नबुझाएको भन्दै लाईन काटेको थियो । सोमवार विद्युत काटिएको बिषयले प्रदेश सभा बैठकमा प्रवेश पाएको छ । प्रदेश सभा सदस्य दिपेन्द्र पुनले विद्युत काटिएका कारण अपमान भएको बताए ।‘यस्तो अपमान सहन सकिदैन । पैसा तिर्नु थियो, अस्तिको दिन काट्या भए हुन्थ्यो । पैसा तिर्नु थियो, पर्सीको दिन काट्या भए हुन्थ्यो । पाँच मिनेट अगाडी काटिदा यो भन्दा ठूलो इन्सल्ट के हुन्छ’उनले भने,‘प्राधिकरणको प्रमुखले लिखित या मौखिक जवाफ यहाँ दिनुर्छ ।’ यस्तै अर्का प्रदेश सभा सदस्य वसीउद्धिन खाँले विद्युतको सामान्य महशुल नतिरेर सदनका मानहानी गरेको आरोप लगाए ।‘एउटा विद्युतको सामान्य विल नतिरेर हाम्रो सदनको मानहानी गर्नु भएको छ’उनले सम्वोधनको क्रममा भने,‘मानहानी गरेवाफत मुख्यमन्त्रीले रोष्ट्रमबाटै माफी माग्नुपर्छ ।’

प्रदेश सरकारले ७ लाख ६३ हजार ३ सय ५० रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी छ । यो महशुलमा एक लाख २१ हजार ६ सय ५२ रुपैयाँ हर्जना रहेको कार्यालय प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । पहिला विद्युत जडान प्रदेश सभा सचिवालयको नाममा थियो । केही महिनाको विद्युत महशुल प्रदेश सभा सचिवालयले तिरेको देखिन्छ । पछी सबै विद्युत महशुल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तिर्नेगरी मिटर नामसारि गरियो । बाँकी चार महिना देखी विद्युत महशुल तिर्न बाँकी छ । विद्युत प्राधिकरणले महशुल बुझाउने बिषयमा मुख्यमन्त्री कार्यालयमा पत्र समेत पठाएको थियो ।


नीयमित विद्युत महशुल बुझाउने बिषयमा प्रमुख सचिव संग समेत छलफल गरेको विद्युत प्राधिकरण कार्यालयले जनाएको छ । बक्यौदा धेरै हुदा लाईन काटिएको विद्युत कार्यालयका प्रमुख लामिछानेले जानकारी दिए । तर, विद्युत महशुल बुझाउन बिषयमा मुख्यमन्त्री कार्यालय र प्रदेश सभा सचिवालय विचको छलफल पछी तिर्ने सर्तमा काटिएकै दिन विद्युत जडान गरिएको कार्यालयले जनाएको छ ।

प्रदेश सभा बैठक चलिरहेकाले काटिएको विद्युत समेत जडान गर्न विद्युत प्राधिकरणलाई दवाव परेको देखिन्छ । १६० र ३०० केभिए ट्रान्सफर्मरबाट लाईन जडान भएको थियो । विद्युत काटिदा प्रदेश सभा तर्फ विद्युत सप्लाई बन्द भएको थियो भने, मुख्मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भने विद्युत सुचारु अवस्थामा रहेको थियो ।