मेट्रो कलेजमा मुख्यमन्त्री गिरी प्राविधिक शिक्षाकालागि प्रदेश सरकार प्रतिवद्ध

तुलसीपुर, २० चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामीले आफै गरिखाने शिक्षामा जोड दिनुपर्दछ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ’ उनले भने । पछिल्लो समय विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गिरीले माटो सुहाउँने खालको सीप प्रदान गर्नका लागि शिक्षालयहरुले ध्यान दिनुपर्ने बताए ।


लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माणाधिन शिक्षालय भवनको अवलोकन गर्दै गिरीले अन्य आवश्यक संरचना निर्माण लगायतका कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना काम गरेको बताउँदै मुख्यमन्त्री गिरीले शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्यले शिक्षालयका बारेमा जानकारी गराएका थिए ।