स्यानीले भन्छिन्ः केन्द्रलाई पर्खिदा नागरिक मर्न थाले, त्यसैले खाल्डाखुल्डी पुरेँ

तुलसीपुर,१० चैत । राप्ती लोकमार्ग केन्द्र सरकार मातहत पर्छ । तर, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले त्यसको कुनै मतलव गरिनन्, र, पुरिन त्यहाँ परेका खाल्डाखुल्डी ।

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर १३ दमारगाउँदेखि झन्ज्याङसम्म सडक बीचमा निकै ठूला खाल्डा खुल्डी थिए । ति खाल्डामा दुर्घटनामा परेर तीन जनाको मृत्यु समेत भइसकेको थियो । दिनानुदिन दुर्घटना भइरहेका थिए । यात्रुलाई आवतजावतमा निकै समस्या थियो, भने स्थानीयहरु पनि त्यतिकै मारमा थिए ।

त्यो कुरा स्थानीयले स्यानीलाई भनेपछि विहीबार अपरान्ह डोजर लिएर त्यहाँ पुगिन् र खाल्डा खुल्डी पुरिन् ।‘उपमहानगरपालिकासंग रिक्वेष्ट गरेँ, जे–जे खर्च लाग्छ, मैले ब्यहोर्छु भनेँ’,उनले भनिन्‘ त्यसपछि डोजर लिए, खर्च ब्यहोरे ।’


त्यहाँ खाल्डाखुल्डीले गर्दा नागरिक मर्न थालेपछि केन्द्रलाई नै पर्खिन आफ्नो मनले नमानेपछि यस्तो कार्य गरेको बताईन् ।‘सबैले केन्द्रको सडक हो भने’,उनले भनिन्‘नागरिक मरिरहेका छन्, अनि केन्द्र भन्दै पर्खिएर हुन्छ, जति सकिन्छ, राम्रो काम गर्ने हो ।’