कपुरकोट गाउँपालिकाले विवाह गर्नका लागि पहिलो सिफारिस दियो

सन्तोष घर्ती,
सल्यान,२९ फागुन ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं.३ को कार्यालयले विवाह गर्नका लागि पहिलो सिफारिस दिएको छ । गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार अभिभाबकहरुको रोहबरमा विवाह गर्नका लागि पहिलो सिफारिस दिएको हो ।

कपुरकोट गाउँपालिका ३ पाखापानी निबासी खगेन्द्र सेन र शारदा नगरपालिका १५ मालनेटा निबासी पबित्रा शाहले आबश्यक कागज पत्र पेश गरी विवाह गरी पाउँ भनि निबेदन दिएकाले उपलब्ध प्रमाण पत्रको आधारमा विवाहका लागि बैबाहिक जीबनको शुभकामना सहित सिफारिस दिइएको ३ नं.वडा अध्यक्ष प्रदिप खड्काले जानकारी दिनु भयो ।

२० बर्ष मुनि विवाह गर्न नपाइने कानुनी ब्यबस्था भएता पनि कपुरकोट गाउँपालिकामा २० बर्ष मुनी विवाह गर्नेको संख्या अत्याधिक भएको पाइएकाले बालबिबाह न्यूनिकरणको कानुनी प्राबधानको सफल कार्यान्वयनको लागि सिफारिस लिनु पर्ने बाध्यता गरिएको कपुरकोट गाउँपालिका कार्यबाहक अध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो ।


भण्डारीले ३ नं.वडा कार्यालयबाट विवाहका लागि पहिलो पटक सिफारिस लिनु हुने सेन र शाहको जोडीलाई सफल बैबाहिक जीबनको शुभकामना दिंदै बालविवाह न्यूनिकरण गर्ने गाउँपालिकाको संकल्पलाई कार्यान्वयनका लागि साथ दिएकोमा धन्यबाद दिनु भयो । उहाले विवाह गर्नका लागि वडा कार्यालयबाट अनिबार्य सिफारिस लिने ब्यबस्थालाई अनुशरण गर्न अरुलाई पनि प्रेरित गर्न नब जेडीलाई अनुरोध गर्नु भयो ।

कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले विवाहका लागि सिफारिस लिनु पर्ने ब्यबस्थाको सुरुवात भएको बताउनु भयो । वलीले कपुरकोट गाउँपालिकाका सबै नागरिक बालबिबाह न्यूनिकरण अभियानमा लागि सकेको भन्दै बालबिबाह पूर्ण रुपमा न्यूनिकरण हुने बताउनु भयो ।

उहाले कानुनमा ब्यबस्था भए अनुसार बालबिबाह गर्ने गराउनेलाई ७५ हजार सम्म जरिवाना र ३ बर्षका लागि सिफारिस गरिने र २० बर्ष पुगेकाले वडाको सिफारिस नलिएर विवाह गर्नेहरुलाइ विवाह दर्ता गर्दा गाउँपालिकाको निर्णण अनुसार ५ हजार जरिवाना गरिने बताउनु भयो । विवाह गर्नका लागि सिफारिस लिंदा भने कुनै शुल्क तिर्नु नपर्ने वलीको भनाई छ ।