राष्ट्रपतिमा उम्मेदवारी आज

काठमाडौं, १३ फागुन ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारीका लागि शनिबार १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची शनिबार ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने यकिन हुन बाँकी छ ।

कांग्रेस र एमालेले उम्मेदवार उठाउने सम्भावना छ । संघीय सांसद र प्रदेश सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको अन्तिम नामावली शुक्रबार सार्वजनिक भएको छ । जसमा संघीय संसद्का दुई जनाको नाम समावेश गरिएको छैन । रवि लामिछानेको सांसद पद बदर भएपछि चितवन–२ रिक्त छ । त्यस्तै मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा परेका कारण उनको नाम मतदाता सूचीमा समावेश गरिएको छैन ।


सुरक्षाकर्मी थमन विकको हत्या आरोपमा थुनामा राख्नुपर्ने एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम भने अन्तिम नामावलीमा समावेश गरिएको छ । उनी फरार रहेको प्रहरीले संसद् सचिवालयलाई समेत जानकारी गराइसकेको छ । कानुनी आधार नभएपछि फरार भए पनि उनी सांसदकै हैसियतमा छन । निलम्बन नभएसम्म सांसद रहने भएकाले मतदाता नामावलीमा नाम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संसद् भवन बानेश्वरमा मतदानस्थल तोकिएको छ । उम्मेदवारी दर्ता पनि संसद्कै ल्होत्से भवनमा हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिनेछ ।

उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक हुनेछ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ । २५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले बहुमत ल्याउनुपर्ने हुन्छ । बहुमत ल्याउन नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । मतदानबाट समेत कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।