तुलसीपुरका ६ सामुदायिक विद्यालयमा “पढ्दै कमाउँदै” परियोजना

तुलसीपुर, २८ माघ ।
तुलसीपुर मेट्रो कलेज र ग्रीन फाउन्डेशन नेपालको सहयोगमा तुलसीपुरका ६ वटा सामुदायिक विद्यालयहरुमा उद्यमशिलता परियोजना सञ्चालन गरिने भएको छ । पढ्दै कमाउँदै अभियानलाई विद्यालयस्तरमा पुर्याउनका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो । अभियान अन्तर्गत विद्यार्थीहरुलाई वन र कृषिक्षेत्रसँग सम्बन्धित विरुवा उत्पादन, बेमौसमी खेती, नर्सरी निर्माण लगायतका काम गरिनेछ ।

पहिलो चरणमा दिपेन्द्र मावि मानपुर, माध्यमिक विद्यालय दोघरे, सरस्वती मावि दमारगाउँ, बालमितेरी मावि भोजपुर,जनजागृति मावि पातु बनगाउँ र माध्यमिक विद्यालय सेन्टरमा यस्तो कार्यक्रम लागु गरिनेछ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल कार्य गर्नका लागि कलेजले प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ ।

यसैबिच उद्यमशिल कार्ययोजना निर्माणका लागि सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई सानैदेखि उद्यमशिलतामा लगाउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले आजभोलिका विद्यार्थीहरुमा सपना देख्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै श्रमले नै मानिसलाई महान बनाउने कुरा उल्लेख गरे ।


उद्यमशिल अभियानकर्मी घनश्याम पाण्डेले विद्यार्थीहरुलाई उद्यमशिल कार्ययोजना निर्माण र आवश्यकताका बारेमा अभिमुखिकरण गरेका थिए । उनले विद्यार्थीहरुको काँधमा देशलाई उद्यमशिल वनाउने जिम्मेवारी रहेको पनि बताए । “देश विग्रियो भनेर हामी निराश हुने भन्दा पनि यसलाई कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो ” पाण्डेले भने ।

कार्यक्रममा विद्यार्थीहरुले उद्यमशिल कसरी बन्ने भन्ने बारेमा जिज्ञासा समेत राखेका थिए । सो अवसरमा कलेज प्रमुख वसन्त आचार्य, नेपाल पत्रकार महासंघका सहसचिव दिप्तीशिखा चौधरी लगायतले उद्यमशिल अभियानका बारेमा प्रकाश पारेका थिए ।

कलेजका कार्यक्रम संयोजक अपिल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वन विज्ञान संकायका प्रशिक्षक सचिन सुवेदीले गरेका थिए । ग्रीन फाउन्डेशनका सचिव सुरेश रावतको अध्यक्षतामा कार्यैक्रम भएको थियो ।