दाङ, २५ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य लागि आज उपनिर्वाचन हुने भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ । निर्वाचनका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रलाई मतदान केन्द्र तोकिएको छ ।
माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि ३ दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
सत्तारूढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य दुवै र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिनु भएको छ । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ ।
लाइभदाङ । २५ माघ २०७९, बुधबार ०९:४३ बजे