सामाजिक सुरक्षा तथा पञ्जिकरणको काम भि.पि.एन. प्रणालीबाट हुने

विमल योगी,
दाङ,२३ माघ ।
सरकारले फागुन ६ गतेदेखी व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको कार्य भि.पि.एन.प्रणाली मार्फत गर्ने भएको छ । देशभरका स्थानीय तहलाई पत्राचार गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले फागुन ६ गतेदेखी अनिवार्य रुपमा यो प्रणाली मार्फत कार्य सञ्चालन गर्न निर्देशन दिएको हो ।

स्थानीय तह मार्फत हुने व्यक्तीगत घटना दर्ता, जन्म,मृत्यु,विवाह,सम्वन्ध बिच्छेद तथा बसाईसराई र सामाजिक सुरक्षा भत्ताको कामलाई गोपनियता कायम गर्न यस्तो प्रणाली जडान गर्न लागिएको हो । सूचनाको उच्चतम सुरक्षा तथा गोपनियता,सूचनाको सही मूल्याङ्कन तथा सही भण्डारण र प्रयोगकर्ताको सही पहिचानतथा प्रमाणिकरणका लागि यस्तो प्रणाली जडान गर्न थालिएको घोराही उप महानगरपालिकाका एम.एस.आई. अपरेटर विराज अधिकारले जानकारी दिनुभयो ।


यसैविच घोराही उपमहानगरपालिकाले पनि मातहतका कर्मचारीलाई भिपिएन मार्फत कार्य सञ्चालनका लागि तालिम दिएको छ । १९ वटै वडामा सामाजिक सुरक्षा तथा पञ्जिकरणको काम गर्ने वडा सचिव तथा सहायक कर्मचारीलाई माघ २२ र २३ गते तालिम दिइएको हो । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको तालिममा भिपिएन मार्फत काम गर्दा अपनाउनु्पर्ने प्रक्रिया तथा जडानका विषयमा जानकारी दिइएको थियो ।

तालिम समापनका अवसरमा बोल्दै घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षाको काम जनतासंग प्रत्येक्ष जोडिएको संवेदनशिल विषय भएकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो । नगरको काममा गुणस्तरियता ल्याउन कर्मचारीको महत्वपूर्ण भुमिका हुने भएकाले सरल,सहज र नियमसंगत तरिकाले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले नगरका योजना तथा कार्यक्रम सञ्चालन जनताले धेरै दुख नपाउने किसिमले गर्नुपर्ने भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । तालिममा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख दिवाकर योगी,एम.एस.आई. अपरेटर विराज अधिकारी,सहायक पाँचौ शुष्मा पाण्डेय लगायतले सहजीकरण गर्नुभएको थियो ।