राप्ती गाउँपालिकाः स–साना कुराको सुधारले ठूलो परिवर्तन

अन्जना बिश्वकर्मा,
तुलसीपुर,९ माघ ।
सेवाग्राहीसंग मिठो बोली, सम्मानजनक ब्यबहार र छिटो सेवा प्रवाह । यही बिशेषताले लोकपृय छबि छ–दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त,दुरुस्त र सेवाग्राही मैत्री वातावरण दिइन्छ । सेवाग्राहीसंग झर्केर होईन्, सम्मान गरेर बोल्नु पर्छ, भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै होईन्, पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवाग्राहीमा गरिने ब्यबहार परिबर्तन भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । “हाम्रो एउटा काम भनेको प्रभाबकारी सेवा प्रवाह हो”, उहाँले भन्नुभयो“हामीले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न बोलि बचनमा सुधार गरेका छौं ।”

सेवग्राही बोलीबचनले पनि धेरै खुसी हुने भन्दै सुरुवातिमा सबैको बोली बचनमा सुधार गरेको उहाँको भनाई थियो । स–साना कुराहरु सुधार गरेमा त्यसले ठूलो उपलब्धी हाँसिल गर्ने बताउनुभयो ।“पहिले हाम्रो ब्यबहार परिबर्तन गर्नुपर्छ”,उहाँले भन्नुभयो“विकास आफै हुन्छ ।” सडक, विद्युत मात्रै विकास नभएको भन्दै शुसासनयुक्त,सभ्य, मर्यादित र स्वस्थ समाज निर्माण गर्नु पनि विकास भएको पालिका अध्यक्ष विष्टको भनाई छ ।

पालिकाले सुरुवातमै विद्यालय क्षेत्र भित्र जंक फुडमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । त्यो निर्णयको चौतर्फी स्वागत भयो । सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कोल्ड ड्रिङ्स, प्लाष्टिकका खादा र मालामा पनि प्रतिबन्ध लगाईयो । यसको उद्देश्य नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्नु रहेको अध्यक्ष विष्टले बताउनुभयो । अहिले विद्यालयमा जंक फुड पनि प्रयोग हुँदैन्, भने प्लाष्टिकका खादा, माला केही पनि प्रयोग हुँदैनन् । जंक फुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतिष्ठानसंग सहकार्यका लागि पनि प्रक्रिया अगाडि बढाईएको अध्यक्ष विष्टले बताउनुभयो ।

राजधानी ब्यबस्थापनमा महत्वपूर्ण भूमिका
राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा संरचना निर्माणदेखि ब्यबस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ । अध्यक्ष विष्टका अनुसार राप्ती गाउँपालिका वडा नं.३ स्थित प्राबिधिक शिक्षालयलाई स्तान्तरण गरेर त्यहाँका संरचना निर्माणमा समन्वय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

संरचना निर्माण भएपछि अहिले स्थायी राजधानी नै राप्ती उपत्यका(भालुवाङ) आएको छ । गाउँपालिकाले मन्त्रालयका भवन भाडामा खोज्नेदेखि लिएर सांसदहरुलाई कोठा भाडा खोज्ने काम पनि भएको छ । त्यसको समन्वय पनि कार्यापालिका बैठकबाट निर्णय गरेर राप्ती गाउँपालिकाले नै गरेको छ ।


विकास र सेवामा जोड
पालिकाले विकास र सेवामा पनि जोड दिएको छ । गरीब, विपन्न विद्यार्थीहरुलाई निःशुल्क शिक्षा तथा छात्रबृति प्रदान गर्नकालागि निःशुल्क शिक्षा सम्बन्धि कार्यबिधि, २०७९ तथा राप्ती गाउँपालिकाको छात्रबृति बितरण सम्बन्धि कार्यबिधि २०७९ स्विकृत गरेको छ । त्यस्तै राप्ती गाउँपालिका वडा नं. २, बाहुनीपाटामा सोलार लिफ्टिङ गरि सिंचाईको ब्यबस्था गरिए छ । जसले गर्दा त्यहाँ सिंचाईको सुविधा विस्तार भएको छ । त्यस्तै भालुवाङमा ५० सैयाको अस्पताल सञ्चालन गर्न ४ कोठे प्रि फ्याब भवन निर्माण गरिएको छ । सोही अस्पतालमा साईमन ईनस्टिच्यूटसंगको सहकार्यमा एमडीजीपीबाट बिषेशज्ञ सेवा प्रदान गरिएको छ ।

राप्ती गाउँपालिका ५ ,सिसहनीयामा १५ शैयाको अस्पतालको निर्माण कार्य सुरुवात भएको छ । पालिकामा आँखा स्वास्थ्यको सेवा विस्तार प्रक्रिया अघि बढेको छ । तिलगंगा आखा अस्पतालको शाखा राप्ती गाउँपालिकामा खोल्ने गरि प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताउनुभयो । कोभिड १९ तथा अन्य महामारीलाई लक्षित गरि कम्पार्टमेन्ट बेड र अक्सीजन सिलिन्डर सहितको मल्टिप्रपोज सेल्टर १६ बेडको सञ्चालन गर्ने तयारी छ । त्यसकालागि राप्ती गाउँपालिका वडा नं. ८ मा जग्गा छनौट गरिएको छ ।

पालिकाले भूमिहीन सुकुम्वासीहरुका लागि जग्गा उपलब्ध गराउनकालागि निस्सा बितरण गरेको छ । नागरिकका गुनासो सुन्नकालागि टोल फ्रि नम्बर सञ्चालनमा पनि ल्याईएको छ । अध्यक्ष विष्टका अनुसार पालिका भित्र उत्पादन भएको कुहिने र नकुहिने फोहोर ब्यबस्थापन गर्ने गरी सरसफाई केन्द्र स्थापनाका लागि जग्गा छनौट गरि जग्गाधनीसंग सम्झौता गरिएको छ ।

पालिका भित्र कम भोल्जेटको समस्याले विद्युतिय उपकरणमा समस्या देखिएको छ । यसलाई समाधान गर्नकालागि राप्ती गाउँपालिका वडा नं. २ मा स्थान छनोट गरि विद्युतको सव स्टेशन निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताउनुभयो । त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद र राप्ती गाउँपालिकाबीच स्वास्थ्य सम्बन्धि अनुसन्धानका बिबिध क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । किसानले उत्पादन गरेको तरकारीलाई बजारिकरण गर्नकालागि सिसहनिया बजारमा तरकारी संकलन केन्द्र निर्माण कार्य अघि बढेको छ ।
साभारः अग्रिम साप्ताहिक