करेन्ट लागेर दाङका युवकको बर्दियामा मृत्यु

दाङ, २७ पुस ।
करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ स्याउली नाकाका १९ वर्षिय तुलसीराम नेपालीको करेन्ट लागेर निधन भएको हो ।

मंगलबार साँझ करिब ५ बजेको समयमा बर्दियाको तारातालमा इन्टेरनेटको तार तान्नका लागि विद्युतको पोलमा चढेका नेपालीको घटनास्थलमै निधन भएको परिवारले जनाएको छ ।


नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनि वर्डलिंक कम्पनिमा कार्यरत रहनुभएको थियो । उनले तुलसीपुरमा लामो समयको कार्य अनुभवपछि एक वर्षअघि बर्दिया सरुवा भएको हो ।

नेपालीको शबलाई पोष्टमार्टमका लागि बर्दियाको जिल्ला अस्पताल गुलरियामा राखिएको आफन्त प्रेम नेपालीले जानकारी दिए । घरको जेठो छोराको निधनपछि परिवार शोकमा छ ।