टरिगाउँ एयरपोर्टः रिफ्युल गर्न आएका प्राबिधिक निराश भए

दीपक बोहरा
दाङ,२४ मंसिर ।
दाङको तुलसीपुर १२ टरिगाउँ स्थित विमानस्थलमा शनिबार(आज) रिफिल कार्यको उद्घाटन गर्ने तयारी थियो । विगत ६ महिना अघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । त्यसलाई शनिबार उद्घाटन गर्ने भनि नेपाल आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेश स्थित भैरहवा कार्यालयबाट २ जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राबिधिकसहितको टोली विमानस्थलमा थियो ।

निगमको जिल्ला स्थित कर्मचारी पनि तैनाथ थिए । तर, एकाएक विमान नआउने भनि खबर आयो र कर्मचारी निराश भए ।“आज रिफ्युल गर्ने भनि कुराकानी भएको थियो, त्यही भएर हामी आएका थियौं”, निगमका प्रदेश कार्यालयका प्रमुख जगदिश चन्द्र यादवले भने “ तर, आज यहाँ आएपछि मात्रै प्लेन क्यान्सिल भएकोे भन्ने खबर आयो ।”

यसरी रिफ्युल गर्ने भनेर उहाँहरु दाङ आएको पहिलो पटक भने होईन् । यो सहित तीन पटक दाङ आउनु भयो । तर, तीनै पटक नै रिफ्युल गर्ने कुरामा बाहानाबाजी हुने गरेको छ । कहिल्यै विमान आएपनि फ्युल नभर्ने र कहिल्यै विमान नै आउनबाट रोक्ने कार्य भइरहेको भन्दै यसले आफूहरु निराश भएको उहाँको भनाई छ ।“केन्द्रीय कार्यालयसंग पनि कुरा भयो, पटक–पटक यसरी फ्युल नहाल्ने भएपछि यहाँ डिपो राख्नुको पनि अर्थ रहदैन”,उनले भने “अन्य ठाउँमा डिपोको आबश्यक छ, के गर्ने भन्ने कुरा केन्द्रीय कार्यालयसंग सल्लाह भइरहेको छ ।”

डिपोमा इन्धन राखेको ६ महिना पुग्नै लागेकाले पुनः त्यसको परीक्षण गर्नुपर्ने र परीक्षणकालागि भारत नै पठाउनु पर्छ । त्यो गर्दा झनै ढिला हुने अबस्था आउने इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताए । उनका अनुसार पहिलो पटक रिफ्युल गर्नुपर्ने भएकाले सल्लाह सुझाब तथा थप प्राबिधिक ज्ञान लिनुपर्ने भएकाले प्रदेश कार्यालय तथा नेपालगञ्जबाट प्राबिधिक सहितको टोली बोलाएको भएपनि पटक–पटक फ्युल भर्ने अबस्था नआउँदा शंका उत्पन्न भएको छ ।

टरिगाउँमा नेपाल बायु सेवा निगमको १९ सिटे टुईनेटर जहाज सञ्चालनमा छ । यो महिनामा तीन पटक मात्रै उडान भरेको छ । बीचमा दुई वटा जहाज ‘ग्राउन्डेड’ भएपनि हवाई सेवा प्रभाबित भएपनि अहिले दुई वटै जहाज सञ्चालनमा आइसकेका छन् । विहीबार र शुक्रबार टरिगाउँमा विमान अवतरण गरेको थियो । तर, शनिबार मात्रै विमान रोकिनुले शंका उत्पन्न भएको छ । नेपाल बायु सेवा निगमका दाङ प्रमुख महेन्द्र शर्माले भने यात्रु नहुँदा बिमान अवतरण रोकिएको बताए । “काठमाडौंबाट एक जना पनि प्यासेन्जर थिएनन्, यहाँबाट ७ जना मात्रै थिए, त्यसैले फलाईट क्यान्सिल भएको हो”,उनले भने “ दुबै तर्फबाट लोड नभएपछि घाटा हुने अबस्था आयो, अपरेटिङ कस्ट पनि नउठ्ने भएपछि फ्लाईट क्यान्सिल भएको हो ।”


मारमा यात्रुहरु
विमान रोकिएपछि यात्रुहरु भने मारमा परेका छन् । नेपाल सुनचाँदी ब्यबसायी संघका केन्द्रीय अध्यक्ष धु्रबकुमार गहतराज आईतबार नै काठमाडौं पुग्नु पर्ने थियो । त्यही भएर उहाँले टरिगाउँबाट टिकेट लिए । जहाज शनिबार आउने भन्ने भएपछि विहानै उनी घोराहीबाट तुलसीपुर आए । तर, यहाँ आउँदा प्लेन नआउने भन्ने जानकारी पाए ।“विहानै खबर गरेको भएपनि हुने, प्लेन क्यान्सिल भएको हामीलाई केही जानकारी पनि भएन”,उनले भने “भोलि जसरी पनि काठमाडौं पुग्ने पर्ने थियो ।”

भोलि काठमाडौं पुगेर सिंगापुर, मलेसिया भ्रमणमा जानु पर्ने भएपनि जहाज रोकिदा काममा प्रभाबित हुने उनले बताए । उनी यसरी मर्का परेको पहिलो पटक भने होईन्, पटक–पटक यसरी नै जहाज नआउने भनेर फर्किएको स्मरण गरे । अब कसरी काठमाडौं पुग्ने भन्ने कुरा चिन्ताको विषय बनेको समेत उनले बताए ।

ल्याब रिपोर्ट आएको ४ महिना भयो
इन्धन डिपो तुलसीपुरका प्रमुख श्रेष्ठका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणकालागि भारत पठाईएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको ४ महिना भइसकेको छ । निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ता अघि नै नेपाल बायु सेवा निगमलाई जानकारी पनि गराईएको छ ।

तर, पनि जहाजमा‘रिफिल’ गर्न सकिएको छैन । डिपोमा ३० हजार लिटर र ब्राउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभाबकारी हुनेछ । यस अघि काठमाडौंबाटै इन्धन ल्याएर आउनु पर्ने अबस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनु पर्ने अबस्था थियो । त्यसले पनि हवाई भाडा महंगो हुँदै आएको थियो । विमानस्थलमा १९ सिटे टुईनेटर मात्रै बस्ने गरेको छ ।

एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महंगो भाडा तिर्न यात्रुहरु बाध्य छन् । दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाडौंमा यात्रु सेवा वापत पाँच सय रहेको,दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ ।