दाङमा कति छन्, एचआईभी संक्रमित ?

दाङ, १६ मंसिर ।
दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्यामा कमी आएको छ । संक्रमित हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको पाइएको छ । पछिल्लो समय एचआइभी संक्रमित पहिचान भएकाहरु सिमेन्ट उद्योग क्षेत्रका तथा केही भारतमा काम गरी फर्किएकाहरु रहेको तथ्याङ्कले देखाउँछ ।

विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइएको छ । रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किनुका साथै अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको तथ्यांकले पनि देखाउने गरेको छ । समुदाय स्तरमा समेत पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको पाईएको हो ।

दाङ जिल्लाको घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना मध्ये ६५ जना महिला, ६४ जना पुरुष रहेका छन् । ती मध्ये घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष रहेका छन्, भने तेश्रो लिङ्गी ४ जना रहेका छन् । जम्मा ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन् ।

पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम भईरहेको सरोकार संस्थाहरुको भनाई छ । जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले एचआईभीको क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक वसन्त खनालले एचआईभी संक्रमित पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्नेको संख्या बढ्दै बताए । शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको उनको भनाइ छ । पछिल्लो समय एचआईभीका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जोखिमपूर्ण अवस्थामा रहेका संक्रमितहरुको रेखदेखदेखि उनीहरुको स्याहार सुसारमा ध्यान दिन थालेपछि समुदायमा यसको जोखिम कम हुने अवस्था सिर्जना भएको छ । तर, बाहिरबाट आउनेहरुमा यो समस्या बढीमात्रामा देखा पर्ने गरेको परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक खनालले बताए ।

मानव स्वास्थ्य समाज दाङका कार्यक्रम संयोजक शिल्पा चौधरीले वार्षिक रुपमा औषत २२–२४ जना नयाँ संक्रमित थपिने गरेको बताइन् । एनसीएसीले संक्रमितका लागि नि:शुल्क औषधी दिने गरेको छ भने सरकारी तवरबाट शुन्यमा झार्न सुरक्षित यौन सम्पर्क, कण्डम वितरण, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएको उनले बताइन् ।

दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपालीले जटिल खालका बिरामी आएमा आवासीय रुपमा राख्ने गरेको बताए । अहिले संघ संस्थाको पहलले गर्दा नयाँ बिरामी फेला पर्ने गरेको र उपचारमा सहज भईरहेको उनले बताए ।


पछिल्लो समय सरोकार संघसंस्थाले आफ्नै क्लिनिकमार्फत पनि सेवा प्रदान गर्दै आएका छन् । एचआईभी चेकजाँच गर्नेदेखि सेवा सुविधा दिने गरेको उनीहरु बताउँछन् । अहिले पनि समाजमा संक्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको तथा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ ।

एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा कमी हुँदै गएको पाइएको छ । औषधि उपचारको पहुँच तथा बढ्दो जनचेतनाका कारण संक्रमित तथा मृतकको संख्यामा कमी हुँदै गएको चिकित्सक बताउँछन् ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेशिएकाहरु रहेका छन् ।

सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने लक्ष्य राखिएको छ । समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरु सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता कायम गर्ने, नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी परिणामहरुका सुधार ल्याउने काम गरिने भएको छ ।

हाल विश्वमा ३ करोड ३९ लाख मानिस एचआईभी संक्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको तथ्यांक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा। सुधा देवकोटाले नेपाललगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण दर घट्दै गएको जानकारी दिइन् । सन् २०१० देखि सन् २०१९ सम्ममा विश्वव्यापी २३ प्रतिशतले नयाँ संक्रमण घटेको छ । त्यसैगरी बच्चाहरुमा ५२ प्रतिशतले नयाँ संक्रमण कम भएको छ ।

केन्द्रका अनुसार सन् २०१० देखि २०१९ सम्ममा एड्सको कारणले हुने मृत्यु ३९ प्रतिशतले घटेको छ । नेपालमा पनि संक्रमण घटेको यौन रोग केन्द्रले जनाएको छ । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ । त्यसैगरी एड्सको कारणले मृत्यु हुनेको संख्या पनि ८५ प्रतिशतले घटेको पाइएको छ ।

बिहीबार विश्व एड्स दिवस पनि हो । सन् ३०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रकी निर्देशक डा. देवकोटाले बताए । नेपालमा एचआइभी तथा एड्स सम्बन्धी क्रियाकलापहरु राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६ देखि २०२१ ले निर्देशन गरे अनुरुप सञ्चालित छन् । नेपालमा ३० हजार जनामा एचआइभी संक्रमण भएको अनुमान छ । जसमध्ये पुरुषको संख्या १७ हजार र महिलाको संख्या १३ हजार रहेको छ । एड्सलाई अन्त्य गर्नका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीब्र बनाउनुपर्नेमा सरोकारवाला जोड दिन्छन् ।