काठमाडौं, ३ मंसिर ।
मंसिर ४ गते प्रदेश र प्रतिनिधिसिभाको निर्वाचन हुँदैछ । निर्वाचनपछि राष्ट्रिय दल बन्ने योग्यता के–के हुन् भन्ने जिज्ञासा पनि उठिरहेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल राष्ट्रिय दल बन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नपर्ने र समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने बताउँछन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलसम्बन्धी व्यवस्था छ ।
‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ,’ भनिएको छ ।
मानौँ यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा भन्दा बढी मत खस्यो । त्यसमध्ये १ करोड मत सदर भयो भने तीन प्रतिशत मत कटाउन तीन लाखभन्दा बढी मत ल्याउनुपर्छ ।
कुनै दलले प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये एकभन्दा बढी सिटमा निर्वाचित भयो र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएन भने त्यो दलको संसद्मा प्रतिनिधित्व हुन्छ तर, त्यसले राष्ट्रिय दलको मान्यता पाउँदैन । यस्तै, समानुपातिकतर्फ एक सिट पनि प्राप्त नगर्ने दलको जमानत जफत हुनेछ ।
लाइभदाङ । ३ मंसिर २०७९, शनिबार १२:०९ बजे