दीपक बोहरा
दाङ, २९ कात्तिक ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामामा ३४५ जना उम्मेदवारमध्ये ३७ जना महिला उम्मेदवार छन् । रुकुम पूर्व र बर्दियामा महिला उम्मेदवार नै छैनन् । त्यस्तै प्रदेशसभामा ४९४ उम्मेदवारमध्ये महिला उम्मेदवारको संख्या २९ मात्रै रहेको छ । गुल्मी, पाल्पा, अर्घाखाँची र रोल्पामा प्रदेशसभाका लागि महिला उम्मेदवारी नै परेको छैन ।
तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको दाङमा एमालेले दुईवटा क्षेत्रबाट महिला उम्मेदवार उठाएको छ । त्यस्तै अर्काे वाँकी रहेको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले सत्ता गठवन्धनको बलमा महिला उम्मेदवार अघि सारेको छ । यस हिसावले दाङको तीनवटै निर्वाचन क्षेत्रबाट मुख्य दलले महिला उम्मेदवार उठाएका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवारहरु ‘हेविवेट’का पुरुष उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछन् ।
दाङ–१ : मेटमणी र शान्ताको लडाई
दाङ क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता मेटमणी चौधरी चुनावी मैदानमा छन् भने उनको प्रतिस्पर्धीमा एमालेकी शान्ता चौधरी छन् । मेटमणी सहरी विकास मन्त्री समेत छन् । उनी दोस्रो पटक निर्वाचन लड्दैछन् । यस अघि २०७४ सालमा बाम गठबन्धन हुँदा देउखुरीबाट काँग्रेसका उम्मेदवार शुसिला चौधरीलाई हराउँदै मेटमणि विजयी भएका थिए ।
२०६४ सालमा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि समानुपातिकवाटै सांसद हुँदै सचेतक भएकी हुन् । दुई पटक समानुपातिकवाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रोपटक प्रतिस्पर्धा गर्दैछिन् । ०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा उनी दाङ २ मा प्रत्यक्षतर्फ काँग्रेसकी शुसिला चौधरीसँग पराजित भएकी थिइन् । अहिले त्यही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धा गर्दैछिन् ।
तत्कालिन अबस्थामा क्षेत्र नं.२ देउखुरी क्षेत्रमा पथ्र्यो । संघीयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बंगलाचुलीको केही वडा समेटेर क्षेत्र नं. १ बनाईएको छ । अहिले पनि भुगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दैछन् । यद्यपी उनको मतदाता नामावली चाहिं घोराही उपमहानगरपालिका वडा नं. ४ मा पर्छ जुन निर्वाचन क्षेत्र नं.२ हो ।
क्षेत्र नं.१ : स्थानीय तहमा अनुसार दलहरुले पाएको मत :
गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ । एकीकृत समाजवादीको आफ्नै मत कमजोर भएपनि काँग्रेस र माओवादीले धोका नदिएमा मेटमणिले जित्ने संभावना देखिन्छ । गठबन्धनको मत बाहिर नजाने गठबन्धनका उम्मेदवार मेटमणी चौधरीको दावी छ । ‘यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो बिशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको गठबन्धन हो’, मेटमणि भन्छन्, ‘त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौं ।’ यो क्षेत्रमा २०७४ सालमा काँग्रेसले २१ हजार ३ सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार ८ सय ६ मत ल्याएको थियो । एमाले विभाजन भएपनि मतमा भने खासै अन्तर देखिएको छैन ।
थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । शान्ताले आफू पूर्व कम्लरी हुँदै कम्लरी मुक्तीका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गरेकी छन् । ‘थारु समुदाय निकै पछाडी परेको समुदाय हो, म आफै पनि अर्काको घरमा कम्लरी बसेर आएको मान्छे हुँ’,उनले भनिन्, ‘त्यस्तो महिला अहिले चुनाबी मैदानमा छु, अवसर पाए गर्न सक्ने छबि पनि बनेको छ, त्यसैले मैले जित्न सक्छु ।’
क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गंगा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छिन् । उनी दुई पटक समानुपातिकतर्फबाट सांसद भएकी व्यक्ति हुन् । २०७० सालमा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद भइन् भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । उनी सांसदमा खह्रो रुपमा आफ्ना कुरा राख्ने हुँदा चर्चित पनि छिन् । त्यसले गर्दा उनले चौधरी समुदायको केही मत काट्न सक्ने आँकलन छ ।
क्षेत्र नं.२ : शंकर र रेखाबीचको कडा टक्कर
दाङ क्षेत्र नं.२ मा एमालेका प्रभावशाली नेता शंकर पोखरेलसँंग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्माबीच टक्कर रहेको छ । शर्मा यसअघि दुई कार्यकाल समानुपातिक सांसद भएकी छिन् । २०७० र २०७४ सालको निर्वाचनमा उनी समानुपातिक सांसद भएकी हुन् । २०७२ सालमा उनी सामान्य प्रशासन मन्त्री समेत भइन् । उनै रेखा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेका पोखरेलसंग पहिलोपटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दैछिन् ।
एमाले महासचिव पोखरेल पनि धेरै पटक प्रत्यक्ष निर्वाचन लडेपनि विरलै सफलता प्राप्त गरेका व्यक्ति हुन् । २०५१ सालको प्रतिनिधिसभा सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उनले सफलता हात पारे । त्योबाहेक उनी २०५६ सालको चुनावमा कृष्णकिशोर घिमिरेसंग हार ब्यहोरे भने २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट बुद्धिराम भण्डारीसंग पराजित भए । २०६४ सालको निर्वाचनमा भने उनी समानुपातिक सांसद बने ।
त्यसबीचमा उनी मन्त्री भए भने २०७४ सालको निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । त्यतिबेला उनले दाङ क्षेत्र नं.२ को प्रदेशसभा १ वाट चुनाव जितेका हु्न् । अहिले उनै पोखरेल र शर्माबीच कडा टक्कर हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारको कडा टक्कर हुने देखिन्छ ।
क्षेत्र नं.२ : स्थानीय तहमा अनुसार दलहरुले पाएको मत :
गठबन्धनका दलहरुमा इमान्दारिता नदेखिएमात्रै नतिजा एमालेको पोल्टामा जान सक्ने अनुमान छ । ‘घोराहीमा माओवादीको मत रेखालाई लगभग सबै जान सक्छ, काँग्रेसको मत इमान्दारितापूर्वक आएमा रेखाले जित्न सक्नुहुन्छ’,स्थानीय विश्लेषक हस्त केसीले भने, ‘तर, शंकर प्रभाबशाली नेता भएकाले काँग्रेसको मत तान्न सके भने गठबन्धनलाई गाह्रो पनि पर्न सक्छ ।’ यो निर्वाचन क्षेत्रमा २०७४ सालमा काँग्रेसले २२ हजार ९२ समानुपातिक मत पाएको थियो, भने एमालेले २२ हजार ८ सय ६९ र माओवादी केन्द्रले १७ हजार ५ सय ८४ मत ल्याएको थियो । तर, स्थानीय तहको निर्वाचनमा एमालेले उल्लेख्य रुपमा मत बढाएको छ भने माओवादीको घटेको छ । काँग्रेसले भने आफ्नो मत सुरक्षित गरेको देखिन्छ ।
क्षेत्र नं. ३ : दिपक गिरीसंग कोमल वली
दाङ क्षेत्र नं. ३ मा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेर निखारिएका काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसंग एमालेकी कोमल वलीले पहिलो पटक प्रतिस्पर्धा गर्दैछिन् । तर, गिरीले यसअघि एक पटक मात्रै निर्वाचन जितेको इतिहास छ । २०५१ सालमा तत्कालिन दाङ क्षेत्र नं.३ बाट एमाले नेता शंकर पोखरेलसंग हार ब्यहोरेका गिरीले २०५६ सालमा निर्वाचन लडेनन् । उनको ठाउँमा गेहेन्द्र गिरी चुनाब लडे र जिते । त्यसपछि २०६४ सालमा दाङ क्षेत्र नं.५ बाट माओवादीको शुष्मा शर्मा घिमिरेसँंग पराजित भए ।
उनले जितेको भनेको २०७० सालमा मात्रै हो । त्यसपछि उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालिन जिल्ला सचिव हिराचन्द्र केसीसंग हार पराजित भए । पटक–पटक हार ब्यहोर्दै आएका गिरीले अहिले भने एमालेबाट पहिलो पटक प्रत्येक्ष निर्वाचन लडेकी कोमल वलीसंग प्रतिस्पर्धा गर्दैछन् । वली यसअघि एमालेमा गएपछि २०७४ सालमा राष्ट्रियसभा सदस्य भएकी थिइन् ।
क्षेत्र नं.३ : स्थानीय तहमा अनुसार दलहरुले पाएको मत :
२०७४ सालको निर्वाचन अनुसार काँग्रेसले यो क्षेत्रमा ३० हजार ५ सय ७२ समानुपातिक मत पाएको थियो भने एमालेले २७ हजार ५ सय ४३ र माओवादी केन्द्रले १० हजार ८ सय ५ मत पाएको थियो । पार्टी विभाजन भएपनि एमालेलाई खासै फरक परेको देखिदैन ।
गुल्मी २ : पूर्व सहकर्मी विष्टसंग भिड्दै झाँक्री
गुल्मीको क्षेत्र नं. २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्टसंग नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धा गर्दैछिन् । बाम लोकतान्त्रिक गठन्धनबाट झाँक्री र एमालेबाट विष्ट उम्मेदवार छन् । उनीहरु दुवैजना यसअघि एउटै पार्टीमा थिए । २०७४ सालको निर्वाचनमा झाक्री विष्टको भोट माग्दै हिडेकी थिइन् । तर, यो पटक प्रतिस्पर्धी बनेकी छिन् । २०४८ सालमा नेपाली कांग्रेसका रुद्रमणी भण्डारीले जितेबाहेक यो साविकको क्षेत्र नं ३ र हाल क्षेत्र नं २ मा बामपन्थीहरुले जित्दै आएका छन् । विष्ट २०५६ सालदेखि यो क्षेत्रमा निर्वाचन लड्दै आएका छन् । २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा (सागर) ले पराजित गरेबाहेक अन्य सबै निर्वाचनमा विष्टले जित हात पार्दै आएका छन् ।
२०७४ सालमा बाम गठबन्धन भएको समयमा उनले १४ हजारभन्दा बढी मत अन्तरले जितेका थिए । उनै विस्टसंग झाँक्री अहिले चुनाबी मैदानमा छिन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भइन् । त्यसपछि २०७८ भाद्र २ मा एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि झाँक्री समाजवादीवाट सहरी विकास मन्त्री समेत भइन् । उनै झाँक्री अहिले गठबन्धनको सहारामा चुनाबी मैदानमा छिन् । समाजवादीको जम्मा ६ सय ५८ मत मात्र रहेपनि गठबन्धनको मत एक ठाउँमा राख्दा एमालेभन्दा करिब १ हजार मतले गठबन्धन अगाडि छ । समाजवादीको मत खासै धेरै नरहेकाले निर्वाचित हुनको लागि कांग्रसकै भर पर्नुपर्ने अथवा गठबन्धनकै सहयोगले आफूले निर्वाचन जित्ने झाँक्रीको दावी छ ।
गुल्मी २ : स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले पाएको मत:
यो क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेले समानुपातिक मत बढि ल्याएको थियो । एमालले २८ हजार ४ सय २५ मत ल्याएको थियो भने काँग्रेसले १८ हजार २ सय ५६ र माओवादी केन्द्रले ४ हजार एकसय ३६ मत ल्याएको थियो । पार्टी विभाजन पछि गुल्मीमा पनि एमालेमा खासै फरक परेको देखिदैन ।
प्यूठामा सूर्य थापासंग दुर्गा
प्यूठानमा गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेल चुनाबमा होमिएकी छिन् । उनको प्रतिस्पर्धीमा एमालेका सूर्य थापा छन् । पौडेल तेस्रो पटक सांसद हुने दौडमा छिन् भने थापा पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । पौडेल २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भएकी हुन् भने २०७० सालमा समानुपातिक सांसद भएकी हुन् । उनै पौडेल अहिले एमालेका थापासंग प्रतिस्पर्धा गर्दैछिन् ।
गत स्थानीय तहको मतको आधारमा हेर्ने हो भने एमाले प्यूठानमा गठवन्धनभन्दा नौ हजार ४३ मतले पछि छ । २०७४ को निर्वाचन अनुसार प्यूठानमा एमालेले २४ हजार ८२ मत ल्याएको थियो भने काँग्रेसले २२ हजार ८ सय ४३ मत ल्याएको थियो । त्यस्तै जनमोर्चाले १५ हजार ४ सयय ७४ र माओवादी केन्द्रले १४ हजार ८२ मत ल्याएको थियो ।
प्यूठानमा स्थानीय तहमा अनुसार दलहरुले पाएको मत :
प्रदेशमा महिला उम्मेदवार : प्रतिनिधिसभा ३७, प्रदेशसभामा २९
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् भने ५२ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । प्रदेश र प्रतिनिधिसभाका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा यी निर्वाचन क्षेत्रबाट भने सीमित मात्रामा मात्रै महिलाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामामा ३४५ जना उम्मेदवारमध्ये ३७ जना महिला उम्मेदवार छन् । रुकुम पूर्व र बर्दियामा महिला उम्मेदवार नै छैनन् । त्यस्तै प्रदेशसभामा ४९४ उम्मेदवारमध्ये महिला उम्मेदवारको संख्या २९ मात्रै रहेको छ ।
गुल्मी, पाल्पा, अर्घाखाँची र रोल्पामा प्रदेशसभाका लागि महिला उम्मेदवारी नै परेको छैन । संघमा गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्री गुल्मी–२, नेपाली काँग्रेसबाट पुष्पा भुषाल अर्घाखाँची १ र कुन्ती शर्मा बाँके–१ तथा जनमोर्चाबाट दुर्गा पौडेल प्यूठान १, माओवादी केन्द्रबाट रेखा शर्मा दाङ–२ रहेका छन् भने एमालेबाट शान्ता चौधरी दाङ–१ र कोमल वली दाङ–३ रहेका छन् । यीबाहेक अन्य महिला उम्मेदवार साना दल तथा स्वतन्त्रबाट रहेका छन् ।
त्यस्तै प्रदेशमा गठबन्धनबाट माओवादी केन्द्रकी कृष्ण केसी बाँके १(क), अञ्जु दहित बर्दिया १(ख) तथा एमालेबाट भावना बुढाथोकी रुकुमपूर्व १(ख) र कृष्णी थारु बर्दिया २(ख)लगायत रहेका छन् । अन्य महिला उम्मेदवार साना दल तथा स्वतन्त्रबाट रहेका छन् ।
लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यका महिला उम्मेदवारहरु:
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यका महिला उम्मेदवारहरु :
साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २९ कार्तिक २०७९, मंगलवार १४:०८ बजे