एमालेको घरदैलोमा मतदाता उत्साहित

तुलसीपुर, २१ कात्तिक ।
नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न स्थानमा घरदैला तथा भेटघाट कार्यक्रम गरेको छ । आइतबार बिहान वडा नम्बर ५, ६ र ८ मा उम्मेदवार सहितको घरदैलो कार्यक्रम भएको हो । प्रतिनिधिसभाका उम्मेदवार कोमल वली र प्रदेश सभा उम्मेदवार घनश्याम पाण्डे सहितको घरदैलोमा मतदाता उत्साहित भएर शुभकामना दिएका थिए । त्यस अवसरमा मतदाताले जनताको जिवनस्तरमा परिवर्तन आउने गरि काम गर्न आग्रह गरेका थिए ।

विकासका कुरा मात्रै गर्ने भन्दा पनि जनताको काम गर्ने नेतृत्वको आवश्यकता रहेको मतदाताको भनाई थियो । विगतमा पटक–पटक एउटै नेतृत्वलाई भोट हालेर जितायौं, तर विकासमा विभेद भयो मतदाताले भने । अब त्यहि नेतृत्वलाई किन भोट दिने ।


यस्तै, पश्चिम दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सदस्यका उम्मेदवार हुकुम बहादुर बस्नेतको घरदैलो जारी छ । जिल्लाको बबई — ७ चरकमटियामा आइतबार घरदैलो कार्यक्रम भएको हो । त्यस अवसरमा उम्मेदवार बस्नेतले पश्चिमको विकास गर्ने जिम्मा आफुमा आएकाले पुरा गर्ने बताएका छन । उनले सधै भरी विकासमा पछि परेको पश्चिम दाङलाई समृद्ध बनाउने बताएका थिए ।