मतदाता आफ्नै गाडीमा हिड्ने नहुँदासम्म म सार्वजनिक बसमै यात्रा गर्छु : हेमन्त मल्ल

तुलसीपुर,६ कात्तिक ।
स्वतन्त्रबाट दाङ क्षेत्र नं.३ का प्रतिनिधिसभाका उम्मेदवार हेमन्त मल्लले आफ्ना मतदाताले आफ्नै गाडीमा हिड्ने नहुँदासम्म आफू सार्वजनिक गाडीमै यात्रा गर्ने बताएका छन् ।

रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलमा उनले मतदाताको आर्थिक क्षमता बृद्धि गर्नतर्फ पहिलो प्राथमिकता दिने बताए ।‘म मतदाताको आर्थिक हैसियत बृद्धि गर्ने तर्फ पहिलो प्राथमिकता दिन्छु’,उनले भने‘मेरा मतदाताले आफ्नै गाडीमा हिड्ने हैसियत नबनाएसम्म मैले जिते पछि म आफू पनि सार्वजनिक गाडीमा यात्रा गर्नेछु ।’


राजनीतिक दलहरुले जनताको जीवन स्तर सुधार गर्न भन्दा पनि आफू समृद्ध बन्ने तर्फ ध्यान दिने गरेको भन्दै आफू जनताको पक्षमा काम गर्न उम्मेदवार बनेको बताए । आफू काँग्रेसको राजनीति छोडेको भएपनि आफ्नो पृष्ठभूमि काँग्रेस भएको भन्दै धेरै काँग्रेसहरु आफ्नो सम्पर्कमा रहेको समेत उनले बताए ।