हत्या प्रकरणः फेला परेका मोवाईल र चप्पल फरेन्सिक परीक्षणकालागि काठमाडौं पठाउने

दीपक बोहरा
दाङ,१ कात्तिक / दाङको तुलसीपुर १३ दमारगाउँमा हत्या गरेर गाडिएको अबस्थामा फेला परेका दुई किशोर–किशोरीले प्रयोग गर्ने मोवाईल र चप्पल फेला पारिएको छ । तालीम प्राप्त कुकुरको सहयोगमा मंगलबार दिउसो दुबैजनाले प्रयोग गर्ने मोवाईल र केटीका चप्पल फेला परिएको थियो । फेला पारिएका मोवाईल र चप्पललाई फरेन्सिक ल्याब परीक्षणकलागि काठमाडौं पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । ति मोवाईल र चप्पललाई काठमाडौं पठाएपछि १/२ दिनमै रिपोर्ट आउने र त्यसपछि त्यसका आधारमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले बताएको छ ।‘काठमाडौंबाट फरेन्सिक ल्याब रिपोर्ट आउछ’, प्रहरीले भन्यो‘त्यसपछि कल डिटेल पनि हेर्छौ, त्यसबाट थप तथ्य फेला पर्छ ।’ यो घटनामा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पु¥याएको छ ।

उनीहरु दुबैजनाको शवलाई मंगलबार तुलसीपुर १२ स्थित बबई घाटमा एकैसाथ अन्त्येष्टी गरिएको छ । दुबैका परिवारले एकै स्थानमा फरक–फरक चिता बनाएर अन्त्येष्टी गरेका हुन् । असोज ३० गते दिउसो १२ बजेतिर दमारगाउँको एक सामुदायिक बनको चिरामा गाडिएको अबस्थामा दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ निवासी १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी १५ बर्षीया रोशनी महताराको शव भेटिएको थियो ।

उक्त घटनामा शंकास्पद देखिएपछि हटौडा निवासी एक टिप्पर चालकलाई पक्राउ गरि अनुसन्धान जारी राखिएको हो । ति चालककै बयानका आधारमा सल्यानबाट उनकै साथीलाई पक्राउ गरिएको हो । चालकले हत्यामा संलग्न ४ जना रहेको बयान दिएका छन् ।ति मध्ये एक जना सल्यानबाट पक्राउ परे भने अन्य दुईजना अझै फरार छन् । सल्यानबाट पक्राउ परेका ब्यक्तीले भने आफूले उनीहरुको हत्या नगरेको र अन्य साथीहरुले हत्या गरेपछि शव ओसारेर खाल्डोमा हाल्न सहयोग गरेको बयान दिएको प्रहरीले बताएको छ ।

यस्तो छ, प्रारम्भीक अनुसन्धान
उनीहरु दुबैजना असोज २७ गते राति घरबाट बेपत्ता भए । पक्राउ परेका टिप्पर चलाकले ति केटीलाई भेटन बोलाए । उनीसंग एक जना साथी पनि थिए । तर, ति चालकले केटीसंगै छुट्टै कुरा गर्न खोज्दा केटीले मानिनन् र फोन गरेर शरदलाई बोलाईन् । केही समयमा शरद त्यहाँ आइपुगेपछि ति चालकले अन्य दुईजना केटालाई बोलाए ।


दुईजना केटाहरु त्यहाँ आएपछि शरदलाई हत्या गरियो । हत्या गरेको कुरा ति केटीले देखेपछि कुरा बाहिर आउने डरमा उनलाई पनि हत्या गरेको ति चालकले बयान दिएको प्रहरीले बताएको छ । उनीहरु बेपत्ता भएपछि केटाका मावली हजुरआमाले दमारगाउँ प्रहरीमा खोजीकालागि निवेदन पनि दिएकी थिइन् ।

हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो । उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा ढुंगा प्रहार भएको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डीएसपी राजन गौतमले जानकारी दिए । केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो ।

खाडल खनेर गाडिएको अबस्थामा फेला परेका उनीहरुको शब गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो ।

केटीको घर तुलसीपुर १३ स्थित डाँडागाउ हो । उनका आमा वुवा कमाउन भारत गएका थिए । घरमा दुई दिदी बहिनी बस्थे ।
केटा आचार्यको घर दंगीशरण ६ थपगाउँ हो । तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए । उनीहरु दुबै जना एउटै स्कुलमा पढ्थे । तुलसीपुर १३ स्थित अम्बापुर स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरु हराएकै दिन राति १२ बजेतिर ‘बचाउ’ भन्ने आवाज आएको स्थानीयले बताएका छन् ।