एक हप्ते राप्ती सरसफाई सचेतना अभियान सकियो, दोस्रो चरणको कार्यक्रम गर्ने तयारी

ओमप्रकाश गुप्ता
भालुवाङ, २७ भदौ ।
दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार राप्ती गाउपालिका २ लालमटियामा सम्पन्न भएको छ ।

पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका सँग समन्वय गरेर १ हप्ता सम्म दैनिक रुपमा माइकिङ गर्ने र यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिने गरी कार्यक्रम गरेको थियोे ।

सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नारा लिएर कार्यक्रमको आयोजना गरिएको थियो ।


संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलमान चौधरी (अनुप)को प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रवक्ता चौधरीले फोहोर व्यवस्थापनका लागि वडा नम्बर ४ मौरीघाटमा जग्गा लिजमा लिइसकिएको र त्यहाँ गल्ने र नगल्ने फोहोरका लागि संरचना निमार्ण कार्य भइरहेकोले फोहोर व्यवस्थापन चाँडै हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले फोहोर व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने हुँदा विभिन्न संघसंस्था तथा युवाहरुको आवश्कता रहेको र त्यसमा सवैले स्वमसेवकको रुपमा काम गर्न अनुरोध पनि गरेका छन् ।

त्यस्तै उनले आफ्नो पसल अगाडी २ वटा डस्टबिन राखी पसलबाट निस्कने फोहोर व्यस्थापन गर्न अनुरोध समेत गरेका छन् । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक बासुदेब न्यौपाने लगायतका वक्ताहरुले महत्वपुर्ण भनाई राखेका थिए ।

कार्यक्रममा उद्योगी, व्यापारी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा सर्वसाधारणको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।