दाङमा उमेदवार सिफारिस गर्नेमा नेकपा एस पहिलो

घोराही, ११ भदौ ।
नेकपा एकीकृत समाजवादी प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले दाङमा आफ्ना उमेदवार सिफारिस गरी पठाएको जानकारी प्राप्त भएको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष सुरामनी बेल्बासेले शुक्रबार दिएको जानकारी अनुसार १० गतेसम्म तीनवटै क्षेत्रीय कमिटीलाई उमेदवारहरुको नाम सिफारिस गर्न समयसीमा तोकिएको थियो । सोही समयसीमा भित्रै तिनबटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र छ वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट उमेदवारको नाम सिफारिस गरेको हो ।

कमिटीले क्षेत्र नं १ बाट शहरी बिकास मन्त्री एवम पार्टी पोलिटव्युरो सदस्य मेटमणि चौधरी, क्षेत्र नं २ बाट पार्टी केन्द्रिय सचिब एवम संविधान सभा सदस्य भागवत बिस्वासीको नाम सर्वसम्मत सिफारिस गरेपनि क्षेत्र नं ३ बाट भने स्वाथ्य राज्य मन्त्री एवम पार्टी केन्द्रिय सदस्य हिराचन्द्र केसी र संविधान सभा सदस्य एवम पार्टी लुम्बिनी प्रदेश कमिटी उपसचिव शारदा स्वर्णकारको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेशसभाको लागि पनि उमेद्वारहरुको नाम सिफारिस गरेको र अब बस्ने जिल्ला कमिटीको बैठकले सो सिफारिसलाई अन्तिम रूप दिने बेल्बासेले बताए ।


गठबन्धनले अन्तिम टुंगो नलगाउदै उमेदवार सिफारिस गर्ने कार्य अलि हतारो भएन र भन्ने प्रश्नमा बेल्बासेले भने, ‘यो हाम्रो पार्टीको आफ्नो प्रक्रिया र तयारी हो । गठबन्धनको मर्म अनुसार हाम्रो भागमा परेको ठाउँमा ती उमेदवार कायम रहन्छन् भने बाँकी क्षेत्रमा हामीले गठबन्धनका उमेदवारलाई पूर्ण सहयोग गर्दछौं।’

नेकपा एकीकृत समाजवादीको लागि दाङमा आफ्नो विरासत जोगाउने चुनौती छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा दाङका दुई निर्वाचन क्षेत्र जितेका सांसद अहिले नेकपा एसमा छन् तर स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्ने हो भने यो दलले चुनाव फलामको चिउरा साबित हुनसक्छ ।