दाङ
३ भदौ / हुलाकी सडक आयोजना कार्यालय नेपालगंजका इन्जीनियर र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा वडा अध्यक्ष सद्दाम सिद्दिकी लगायतको टोलीले बिहीवार लमही–कोइलाबास सडकको स्थललगत अध्ययन अनुगमन गरेको छ ।
अनुगमनको क्रममा बर्षात्का कारण लमही कोइलाबास सडक ठाउँ–ठाउँमा चर्किएको र पहिरो झरेर नाली भत्किएको तथा पुरिएको पाइएको टोलीले जनाएको हो । सडकको अवस्था नियाले पश्चात् गाउँपालिकाले तत्काल मर्मतकालागि हुलाकी सडक आयोजनाको कार्यालयलाइ आग्रह गरेको अध्यक्ष सहजराम यादवले बताए ।
धेरै स्थानमा पहिरो झरेर नाली पुरिएको छ । नाली निर्माणको क्रममा गुणस्तरिय काम नभएकै कारण कतिपय स्थानमा नाली पनि भत्किएको छ । कतिपय स्थानका कल्भर्ट पनि खतरायुक्त बनेका छन् । यसको तत्काल मर्मत गर्नुपर्छ–गढवा ८ कोइलाबासका वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताए । गतबर्ष पनि सडकका केहि भाग चर्किएका र भत्किएका थिए तर ति भागहरु भने सडक आयोजनाको कार्यालय मार्फत निर्माणको ठेक्का लिएको कम्पनिले मर्मत गरेको छ–उनले भने ।
लमही–कोइलाबास सडक खण्डको मडवा मन्दिर देखि केही तलतिर २ स्थानमा बिच भागबाट कालोपत्रे सडक चर्किएको छ । अन्य स्थानहरुमा पनि घेउँछाउँमा चर्किएको छ । पहिरोले नालीहरु पुरिने र भत्किने पनि भएको छ । चर्किएको र पहिरोले पुरिएको भागहरुमा तत्काल सडक मर्मत गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।
सडक निर्माण कम्पनिको निर्माणकार्य सकिए पछि पनि २ बर्ष सम्म मर्मत संभार अवधी रहेको र सो सडक बिग्रे भत्केमा सम्बन्धित कम्पनिले नै मर्मत गर्ने दायित्व रहेको हुलाकी सडक आयोजनाको कार्यालयका इन्जीनियरले बताए । हामी तत्काल आयोजनाको कार्यालय मार्फत निर्माण कम्पनिलाई खबर गर्छौ । सडक थप बिग्रिनबाट जोगाउनु पर्छ–गाउँपालिकाका अध्यक्ष यादवले भने ।
पहिरोले सडकका केहि भाग पुरिएको र तत्काल डोजर लगाएर सफा गर्न आग्रह गरिसकेको अध्यक्ष यादवले बताए ।
लाइभदाङ । ३ भाद्र २०७८, बिहीबार २१:५३ बजे