सल्यानमा चन्द समुहका नेता मृत भेटिए

सल्यान, १९ साउन ।
सल्यानमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला परेका छन् । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी(लोकपाल) बिहीबार बिहान मृत फेला परेका हुन् ।

छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् । झोला बोकेका उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए ।


केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए । मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।