बबई गाउँपालिकामा काँग्रेस विजयी, एमालेले वडा पनि गुमायो

दीपक बोहरा
दाङ, ३ जेठ ।

दाङको बबई गाउँपालिकामा काँग्रेसले विजयी हाँसिल गरेको छ । काँग्रेसका कुलबहादुर खत्रीले ६६१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका भुवनेश्वर पौडेलले ५३३८ मत ल्याएका थिए । उनीहरुबीच १२२७ मतान्तर रहेको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै बमकुमारी खड्काले ६४०० मत प्राप्त गरेकी छिन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेकी सावित्रा विकले ५४१४ मत प्राप्त गरेकी छिन् । उनीहरुबीचको मतान्तर ९८६ रहेको छ । एमालेका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवार २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भएर आफ्नो कार्यकाल पूरा गरेका उम्मेदवार हुन् ।


त्यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार भिमबहादुर वलीले २०२८ मत ल्याएका थिए, भने उपाध्यक्ष पदका उम्मेदवार अञ्जु घर्तीले २२५६ मत ल्याएकी थिइन । बबईमा २२१४४ मतदाता रहेकोमा १५ हजार ४ सय २४ मत खसेको थियो ।

एमालेले वडा पनि गुमायो
बबईका ७ वटा वडा मध्ये एमालेले अघिल्लो चुनाबमा ५ वटा वडा जित्न सफल भएको थियो । १, ३, ४, ५ ६ नम्बर वडा जितेकोमा अहिले १,३ र ४ मा जित्न सफल भएपनि ५ र ६ नम्बर वडा गुमाएको छ । ४ नम्बर वडामा एमालेका टेकबहादुर वली दोहोरिएका छन्, भने ६ नम्बरमा एमालेका रामबहादुर डाँगी दोहोरिन खोजेपनि उनले हार ब्यहोरे । एमालेले गुमाएका ५ र ६ नम्बर वडामा काँग्रेसले कब्जा जमाउन सफल भएको छ । अघिल्लो चुनाबमा एउटा मात्रै वडा जितेको काँग्रेसले अहिले भने ४ वटा वडा जित्न सफल भएको छ । २ नम्बर वडा यस अघि नै काँग्रेसले जितेको हो । त्यस्तै स्वतन्त्रले जितेको ७ नम्बर वडा पनि काँग्रेसले नै जित्न सफल भएको छ । माओवादीले भने बबईमा कुनै पनि वडा जित्न सकेन ।