दाङमा रेडपाण्डाको छालासहित तीन जना पक्राउ

दाङ
१४ फागुन / दाङमा पाँच थान रेडपाण्डा (हाब्रे)को छालासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरि रोल्पाका तीन जनालाई लोपन्मुख रेडपाण्डाको छालासहित पक्राउ गरेको बताएको छ ।

हिमाली जिल्लाबाट ल्याएर रोल्पा हुँदै बुटवल, काठमाडौं लैजादै गरेको अबस्थामा रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं. ७ निवासी ३२ बर्षीय रामबहादुर थापा, सोहीपालिकाको वडा नं. ३ निवासी २० बर्षीय रुपक खड्का र सुनछहारी गाउँपालिका वडा नं. ७ निवासी १९ बर्षीय रामकुमार पुनमगरलाई पक्राउ गरिएको हो । उनीहरुलाई शुक्रबार बिहान ७ बजेतिर राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ–प्युठान सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुबाङको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुलाई आईतबार वन डिभिजन कार्यालय घोराहीमा बुझाईने प्रहरीले बताएको छ ।


पक्राउ परेकाहरुले दिएको बयान अनुसार एक महिलाले हिमाली जिल्लाबाट रोल्पा ल्याएकी थिइन् । त्यसलाई बुटवल, काठमाडौं लैजाने गरि उनीहरुले बतयारी गरेका थिए । रेडपाण्डाको छालाको बजार मूल्य पनि हुँदैन । तर, हावाको भरमा लोपन्मुख जनावर मार्ने गरेको छ । यसले रेडपाण्डा हराउन सक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए । उनका अनुसार किन्ने ग्रहाक पनि नहुँने समेत उनले बताए । समुन्द्र सतहबाट २२ सय मिटर देखि ४८ सय मिटर सम्मको उचाइमा करिब २५ डिग्री तापक्रममा हाब्रे पाइन्छ ।