
तुलबहादुर कवँर मगर
दाङ १२,भदाै।
भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोमा परी हालसम्म दाङको राप्ती गाउँपालिकाका चार जना सम्पर्कविहीन हुनुभएको छ।
उहाँहरूको खोजी तथा उद्धारका लागि जनप्रतिनिधिले सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल अघि बढाउनुभएको छ।
सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका–३ बसन्तपुर निवासी २४ वर्षीय सर्वेस चौधरी, वडा नं. ४ मौरीघाट निवासी ४५ वर्षीय रामबहादुर चौधरी र २२ वर्षीय सिजन चौधरी तथा वडा नं. ६ बगरापुर निवासी २२ वर्षीय अनिल चौधरी रहनुभएको छ।
सम्पर्कविहीन नागरिकहरूको अवस्थाबारे जानकारी लिन तथा परिवारलाई भेटेर आवश्यक समन्वय गर्न शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहितको जनप्रतिनिधिको टोली उहाँहरूको घरमा पुग्नुभएको थियो।
टोलीमा वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी, वडा नं. ६ का वडा अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रणबहादुर पुजाली तथा वडा सदस्य रोशन चौधरी र शान्तप्रसाद चौधरी सहभागी हुनुहुन्थ्यो।
भेटघाटका क्रममा अध्यक्ष विष्टसहित जनप्रतिनिधिहरूले परिवारसँग सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो। विपद्को यस दुःखद् अवस्थामा परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै उहाँहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जानकारी गराउनुभएको थियो।
सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको र प्राप्त सूचनाका आधारमा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको अध्यक्ष विष्टले बताउनुभएको छ।
भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा राप्ती गाउँपालिकाले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको अवस्था बुझ्ने, खोजी तथा उद्धारमा सहयोग गर्ने र आवश्यक समन्वयका लागि पहललाई निरन्तरता बढाउनुभएको छ।



लाइभदाङ । १२ भाद्र २०८३, शुक्रबार १२:१८ बजे