सक्सेस एकेडेमीमा ‘नमुना संसद’: जब विद्यार्थीहरूले रोस्ट्रमबाट देशको भविष्य कोरे

दाङ, ११ साउन ।
विद्यालयको घण्टी होइन, सभामुखको ‘रुलिङ’ गुञ्जिरहेको थियो। तुलसीपुर ९ दोघरे स्थित सप्तरङ्गी इङ्लिस मिडियम स्कुल (सक्सेस एकेडेमी) को आयोजनामा भएको ‘नमुना संसद’ कार्यक्रमले त्यहाँ उपस्थित सबैलाई देशको संघीय संसद भवनमै पुगेको आभास दिलाउँथ्यो । रोस्ट्रममा सभामुख र कर्मचारीहरूको गम्भीर उपस्थिति, एकातिर सत्ता पक्ष र अर्केतिर प्रतिपक्षका सांसदहरूको सुझबुझपूर्ण आसनले कार्यक्रमलाई निकै ओजिलो बनाएको थियो ।

जनताका मुद्दा र विद्यार्थीको आवाज संसदको शून्य समय सुरु हुनासाथ कक्षा ६ का विद्यार्थी एलेक्स गिरी निकै आत्मविश्वासका साथ कुरा राखे । उनले देशका दुर्गम क्षेत्रमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै सदनको ध्यानाकर्षण गराए । एलेक्सको स्वरमा केवल गुनासो मात्र थिएन, देशमा स्वरोजगारको अवसर नहुँदा युवाहरू बिदेसिन बाध्य भएको प्रति गहिरो चिन्ता पनि झल्किन्थ्यो ।

त्यस्तै, अर्का ‘सांसद’ लक्ष्मण चलाउनेले पूर्वाधार विकासको मुद्दालाई प्राथमिकताका साथ उठाए। उनले सल्यानका विकट बस्तीहरूमा अझै पनि सडक सञ्जाल नपुगेको यथार्थलाई सदन समक्ष प्रस्तुत गर्दै विकासको गतिलाई गाउँ–गाउँसम्म पु¥याउन माग गरे ।

यो नमुना संसदको अभ्यास वास्तविक संसदभन्दा कम थिएन। जब सांसदहरूले जनजीविकाका प्रश्नहरू उठाए, प्रतिपक्षका सांसदहरूले संसदीय भाषा र मर्यादामा रहेर ‘नियमापत्ति’ समेत गरे । सभामुखले बोल्ने समय उपलब्ध गराएपछि मात्र सांसदहरूले आफ्ना धारणा राख्ने र सबैको कुरा सुनिसकेपछि सम्बन्धित मन्त्रीहरूले हाउसमा उठेका प्रश्नहरूको जवाफ दिने प्रक्रियाले कार्यक्रमलाई पूर्ण लोकतान्त्रिक र मर्यादित बनाएको थियो । त्यति मात्रै होईन्, संसदले कानुन पनि बनाउने हो । उनीहरुले बिभिन्न कानुनहरु पनि पास गर्दाको अभ्यास गरे ।


विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानभन्दा बाहिर निकालेर व्यावहारिक संसदीय अभ्यास सिकाउनु कार्यक्रमको मुख्य उद्देश्य थियो। सक्सेस एकेडेमीका प्रिन्सिपल प्रदीप वलीका अनुसार विद्यार्थीहरूलाई संसद सञ्चालनको प्रक्रिया र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष परिचित गराउन यो पहल गरिएको हो ।

कार्यक्रमको अवलोकन गरेका दाङ क्षेत्र नं. ३ का सांसद कमल सुवेदीले यसको मुक्तकण्ठले प्रशंसा गरे। उनले यस्ता अभ्यासले विद्यार्थीहरूलाई भविष्यको दक्ष जनशक्ति बन्न मद्दत गर्ने र संसदीय पद्धतिप्रति उनीहरूको रुचि जगाउने विश्वास व्यक्त गरे । द नेसनल वेलफेयर नेपालको सहकार्यमा शनिबार र आईतबार बालबालिकाहरूमा नेतृत्व गर्ने क्षमता र देशप्रतिको जिम्मेवारीबोध गराउन एउटा दरिलो इँटा थपेको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षतामा कार्यक्रम भएको हो ।