आगलागीको घटनामा राष्ट्रिय व्यापार संगठनद्वारा छानविनको माग

तुलसीपुर
२८ माघ / तुलसीपुरमा ५ जनाको मृत्यु हुने गरि भएको आगलागीको घटनाको नेपाल राष्ट्रिय ब्यापार संगठन तुलसीपुरले छानविनको माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरि घटनाको सत्यतथ्य छानविनको माग गरेको हो । अध्यक्ष घनश्याम डाँगीले विज्ञप्ति जारी गरि यस अघि पनि तुलसीपुरमा आगलागीका घटनाहरु भइरहेपनि त्यसलाई तत्कालन नियन्त्रण गर्न सक्ने अबस्था नहुनु, दुःखद पक्ष रहेको बताए ।

समयमा दमकल नआउने, दमकल आएपनि पानी उपलब्ध नहुँनेजस्ता कारणले यसरी ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको भन्दै यस्ता समस्या समाधान गर्न सम्बन्धित निकाय चनाखो बन्नुपर्ने बताए । यस्तै शोकमा आज १ दिन पसल बन्द गरिदिन समेत सम्पूर्ण व्यबसायीहरुलाई आग्रह गरेका छन् ।


दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित ईरम फुटवेयरमा आज –शुक्रबार विहान २ बजेतिर आगलागी हुँदा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अली, उहाँका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलीकासाथै सुर्खेत घर भई हाल भाडामा बस्दै आएका १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकसको मृत्यु भएको हो ।