प्रधानमन्त्रीको राजीनामा माग गर्दै वाइसीएल दाङले बुझायो ध्यानाकर्षण पत्र

तुलसीपुर,२१ जेठ ।
योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल, दाङले प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल राजीनामा माग गरेको छ। गत जेठ १७ गते प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै वाइसीएलले आपत्ति जनाएको हो।

वाइसीएल दाङका इन्चार्ज नेव बहादुर जीसी (मार्शल) द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रलाई आजदाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार पठाइएको छ।

उक्त पत्रमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति राष्ट्रघाती, गैरजिम्मेवार र नेपालको सार्वभौमिकताको विरुद्धमा रहेको आरोप लगाइएको छ। साथै, प्रधानमन्त्री र उनको पार्टीले राज्य सञ्चालन गर्नुको साटो सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर नेपाली जनतालाई झुक्याउने काम मात्र गरेको दाबी गरिएको छ।


आम नेपाली जनताको धैर्यताको बाँध नटुट्दै प्रधानमन्त्री शाहले तुरुन्त माफी माग्नुपर्ने र आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग वाइसीएल दाङको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय सचिब तथा लुम्बिनी प्रदेश सहइन्चार्ज अमर चन्द(माईकल), जिल्ला अध्यक्ष इराक घर्ती, सचिब विप्लव वलीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।