
काठमाडौं,१५ जेठ।
नेपाल सरकारले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने बताएको छ । नयाँ आर्थिक वर्षको बजेट भाषणका क्रममा डा। अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
फिन्टेक मार्केटप्लेस भनेको मोबाइल एप वा इन्टरनेटको माध्यमबाट थरीथरीका बैंक, ऋण, र बीमा सम्बन्धी सेवाहरू एकै ठाउँमा पाइने ‘डिजिटल वित्तीय बजार’ हो । त्यस्तै, अर्थमन्त्री वाग्लेले सूचनाप्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको बताएका छन् ।
‘नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउने छौँ,’ उनले भनेका छन् ।
सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउने पनि सरकारले बताएको छ ।
सँगसँगै नागरिक एपमा पनि दर्जनौँ सरकारी सेवाहरु आबद्ध हुनेछ । ‘डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गर्ने छौँ,’ अर्थमन्त्री वाग्लेले भनेका छन् ।



लाइभदाङ । १५ जेष्ठ २०८३, शुक्रबार १६:५९ बजे