विपदका बेला उद्धार संयन्त्रलाई मजबुत बनाउन आवश्यक- प्रजिअ पाण्डे

प्रिया स्मृती गजमेर
दाङ,१४ जेठ ।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले मनसुनको समयमा हुन सक्ने विपदजन्य घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सबै पक्षबीच प्रभावकारी समन्वय, सहकार्य र पूर्वतयारी आवश्यक रहेको बताउनु भयो ।

नेपाली सेना श्री ज्वालादल गणको आयोजनामा लमही नगरपालिका -६ मध्यनगर स्थित राप्ती नदीमा प्रदर्शन गरिएको “अभ्यास मनसुन–६” पूर्वतयारी संयुक्त अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले विपद कुनै पूर्व सूचना दिएर नआउने भएकाले समयमै सचेतना, तयारी र उद्धार संयन्त्रलाई मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले बाढी, डुबान, पहिरो लगायतका प्राकृतिक विपदका घटनामा सुरक्षाकर्मी, स्थानीय तह, स्वास्थ्य संस्था, स्वयंसेवी संघसंस्था तथा स्थानीय नागरिकबीचको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउँदै विपदको समयमा एक्लो प्रयासले मात्र सम्भव नहुने धारणा   राख्नुभयो ।

“विपद बाजा बजाएर आउँदैन, त्यसैले विपद आउनु अघि नै हामी सबै सजग, सतर्क र तयारी अवस्थामा रहनुपर्छ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले यस्ता संयुक्त अभ्यास कार्यक्रमले विपद व्यवस्थापनमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि हुनुका साथै वास्तविक घटनाको समयमा छिटो, प्रभावकारी र समन्वयात्मक ढंगले उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले मनसुन अवधिभर उच्च सतर्कता अपनाउन जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा आवश्यक उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभयो ।

लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदी क्षेत्रमा आयोजित उक्त कार्यक्रममा दाङ जिल्लास्थित विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरुको समन्वय तथा सहकार्य रहेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी, श्री ज्वालादल गणका गणपति सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ तथा सशस्त्र प्रहरी बल नेपाल नं २९ ज्वालामाई गणका प्रमुख प्रहरी उपरीक्षक यदु कुमार कार्की लगायतको सहभागिता रहेको थियो ।


त्यसैगरी स्थानीय तहका जनप्रतिनिधि, विपद शाखाका प्रमुख, रेडक्रसकर्मी, पत्रकार तथा स्थानीयवासीहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

संयुक्त अभ्यासका क्रममा मनसुनजन्य बाढी, डुबान तथा अन्य विपदका समयमा उत्पन्न हुन सक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक डेमो प्रस्तुत गरिएको थियो ।

विपद आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, उद्धारका उपाय, सुरक्षित स्थानतर्फको स्थानान्तरण तथा विपदका बेला नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले विपद व्यवस्थापनमा सबै निकायबीचको समन्वय, पूर्वतयारी र जनचेतना अत्यन्त आवश्यक रहेको बताएका थिए ।

संयुक्त अभ्यासले विपदको समयमा हुने सम्भावित क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

नेपाली सेनाका उपसेनानी गणेशमान एसकेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।